घाेराही, असार ४, घोराही उपमहानगरपालिकाले बजार क्षेत्रका टोल विकास संस्थाहरूलाई ‘पूर्णरूपमा फोहोर वर्गीकृत टोल’ घोषणा गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ। यही क्रममा मंगलबार आयोजित एक कार्यक्रमका बीच वडा नं. १४ अन्तर्गतका जनचेतना टोल, सगरमाथा टोल र नवजलजला टोल विकास संस्थालाई ‘पूर्णरूपमा फोहोर वर्गीकृत टोल’ घोषणा गरिएको हो।
वडा अध्यक्ष भानसिं बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी र उपप्रमुख हुमाकुमारी डिसीले टोलका पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गर्दै टोलहरूलाई औपचारिक रूपमा फोहोर वर्गीकृत घोषणा गर्नुभयो।
अब ती टोलहरूमा जैविक (गल्ने) र अजैविक (नगल्ने) फोहोरलाई घरमै छुट्याई सरसफाइको गाडीमार्फत व्यवस्थापन गरिने छ।
कार्यक्रमको सुरुमा वडा सदस्य टीका श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सरसफाइ व्यवस्थापन शाखाका प्रमुख लक्ष्मण अधिकारीले गर्नुभएको थियो।












