घोराही, १० भदाै । सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको ‘घोराही बनाऔँ अभियान’ पछिल्लो समय खेलकुद क्षेत्रमा पनि उत्तिकै सक्रिय देखिएको छ। अभियानले विभिन्न समूह, संस्था तथा विद्यालयका टोलीसँग मैत्रीपूर्ण फुट्सल, फुटबल तथा भलिबल प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ। अभियानको सक्रियता बढेसँगै घोराहीमा क्रियाशील विभिन्न फुट्सल समूह तथा संस्थाहरूले अभियानको टोलीलाई दिनहुँजसो मैत्रीपूर्ण प्रतियोगिताका लागि निम्तो दिन थालेका छन्।
यसैक्रममा बुधबार घोराहीको गैरागाउँस्थित फुट्सल मैदानमा ‘घोराही बनाऔँ अभियान’को निर्वाना पाथ ग्रुपसँग मैत्रीपूर्ण फुट्सल प्रतियोगिता सम्पन्न भएको छ। रोमाञ्चक खेलमा घोराही बनाऔँ अभियानको टोलीले ९ गोल गर्दा निर्वाना पाथ ग्रुपले ६ गोल गरेको थियो। खेलमा अभियानको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ९–६ को जित हात पारेको हो।
अभियानले यसअघि पनि घोराहीका विभिन्न समूह तथा संस्थासँग मैत्रीपूर्ण फुट्सल प्रतियोगितामा सहभागिता जनाइसकेको छ। सामाजिक अभियानलाई जनस्तरसम्म जोड्ने उद्देश्यसहित खेलकुदलाई समेत माध्यम बनाउँदै आएको अभियानको टोली पछिल्लो समय लगातार खेलकुद गतिविधिमा व्यस्त देखिएको छ।
बिहीबार घोराहीस्थित दीपशिखा माध्यमिक विद्यालयका शिक्षकहरूको टोली र घोराही बनाऔँ अभियानबीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता हुँदैछ। त्यसैगरी शुक्रबार दाङ निर्माण व्यवसायी संघसँग र शनिबार युनिक मिड वेस्टर्न एकेडेमी मैत्रीपूर्ण फुट्सल प्रतियोगिता हुने अभियानका संयोजकले जानकारी दिनुभएको छ।
अभियानका संयोजकका अनुसार सामाजिक रूपान्तरण, विकास, शिक्षा, स्वास्थ्य, खेलकुद, उद्यमशीलता लगायतका क्षेत्रमा समुदायलाई जोड्दै अघि बढ्ने अभियानको उद्देश्य रहेको छ। खेलकुदले आपसी सम्बन्ध, सहकार्य, अनुशासन र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने भएकाले अभियानले खेलकुद गतिविधिलाई पनि प्राथमिकतामा राखेको उहाँले बताउनुभयो।
घोराही बनाऔँ अभियानले विभिन्न सामाजिक तथा रचनात्मक गतिविधि निरन्तर सञ्चालन गरिरहेका कारण पछिल्लो समय विभिन्न क्षेत्रका व्यक्ति, समूह तथा संस्थाहरू अभियानसँग जोडिन इच्छुक देखिएका छन्। फुट्सल प्रतियोगिताको निम्तो दिनेदेखि सामाजिक कार्यमा सहकार्य गर्ने क्रम बढ्नुले अभियानप्रतिको जनचासो र सहभागिता विस्तार हुँदै गएको संकेत गरेको छ।
सामाजिक अभियानसँगै खेलकुदमार्फत पनि युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्ने प्रयासले घोराहीमा स्वस्थ, सक्रिय र सहकार्यमा आधारित वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।











