घोराही, १३ असार । घोराहीको शहिद गुम्राह चोकमा जय महाकाल युवा समूह घोराहीले साँझ–विहान आयोजना गरेको निशुःल्क खाना खुवाउने कार्यक्रममा सहयाेग र समर्थन बढी रहेकाे छ ।

महाकाल समूहको कामबाट प्रभावित भएर घोराही–१७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कूलले ठूलो परिमाणको खाद्यान्न सहयोग गरेको छ । महाकाल युवा समूहले खाना खुवाउन सुरु गरेको १२ दिन भित्र अहिलेसम्मकै ठूलो परिमाणमा मदन भण्डारी स्कुलले खाद्यान्न सहयोग गरेको छ । घोराही–१४ मिलनचोकस्थित महाकाल युवा समूहको कार्यालयमै पुगेर मदन भण्डारी मेमोरियल स्कुलका शिक्षक एवं विद्यार्थीले खाद्यान्न सहयोग गरेका हुन् ।

विद्यालयका प्रिन्सिपल विमल भण्डारीको नेतृत्वमा गएको शिक्षक विद्यार्थीको टोलीले नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको रोहबरमा महाकाल युवा समूह घोराहीका अध्यक्ष श्रीधर गिरीलगायतलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो ।

मदन भण्डारी मेमोरियल स्कूलका विद्यार्थीहरुले खाजा खर्च कटाएर साथै शिक्षक एवम् स्कूलले समेत खाद्यान्न सङ्कलन गरी महाकाल युवा समूहले आयोजना गरिरहेको नि:शुल्करुपमा खाना खुवाउने कार्यमा हातेमालो गर्नका लागि दुई क्वीन्टल चामल, दुई बोरा आलु, एक बोरा दाल, एक कार्टुन तेललगायतका सामग्री सहयोग गरिएको विद्यालयले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयको तर्फबाट बोल्दै प्रिन्सिपल भण्डारीले महाकाल युवा समूहले अतिनै प्रसंशनीय कार्य गरेकाले विद्यार्थी, शिक्षक एवं विद्यालयको तर्फबाट खाद्यान्न सहयोग गरेको जानकारी दिनुभयो । महाकाल युवा समूहलाई प्रोत्साहन गर्ने गरी खाद्यान्न सहयोग गर्ने मदन भण्डारी मेमोरियल स्कुललाई महाकाल युवा समूह घोराहीका अध्यक्ष श्रीधर अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

पत्रकार सविन प्रियासनको संयोजनमा विद्यालयले महाकाललाई खाद्यान्न सहयोग गरेको हो । सो अवसरमा पत्रकार प्रियासनले सहयोग गर्ने मदन भण्डारी मेमोरियल स्कूल र सामाजिक कार्य गरिरहेको महाकाल युवा समूहलाई धन्यवाद दिँदै यस्ता कार्यहरु निरन्तर अगाडी बढाउन अनुरोध गर्नुभएको छ ।

यसैबीच घोराही–१७ गुलरिया स्थित मदन भण्डारी मेमोरियल स्कूलले घोराहीको गुम्राहचोकमा सरसफाई गर्ने भएको छ । जननेता मदन भण्डारीको जन्मोत्सवका अवसरमा विहान ९ बजे शिक्षक, विद्यार्थी एवम् विद्यालयको सहभागितामा गुम्राहको शालिक भएको स्थान, पिपलबोट चौतारा, ट्राफिकमा घोडाको मुर्ति भएको स्थानमा सरससफाई गरिने विद्यालयका प्रिन्सिपल विमल भण्डारीले जानकारी दिनुभयो ।

यसैगरी जय महाकाल युवा समूहले आयोजना गरिरहेको बटुवालाई खाना खुवाउने कार्यक्रममा पनि विद्यालयले काम गर्ने तयारी गरिएको प्रिन्सिपल विमल भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस