घोराही, असार २३ । घोराही उपमहानगरपालिकाको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वडा नं. ५ धारापानीका महिलालाई लक्षित गरी वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिएको छ।
विदेशी रोजगारीमा गएकाहरूका परिवारले विदेशबाट पठाइएको रकम कसरी सुरक्षित गर्ने, उत्पादनमुखी क्षेत्रमा कसरी लगानी गर्ने तथा मानसिक रूपमा कसरी सशक्त बन्ने भन्ने विषयमा केन्द्रित कक्षा २१ हप्ता सञ्चालन गरिएको थियो। कक्षा सम्पन्न भएपछि सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गरिएको हो।
वडा नं. ५ का अध्यक्ष विवेक बुढाथोकीको अध्यक्षतामा आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रशासन महाशाखा प्रमुख तथा सामी कार्यक्रमका स्रोत व्यक्ति वासुदेव आचार्य, कार्यक्रम संयोजक बसन्ता पुन, जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख राधा पौडेल, मनोसामाजिक परामर्शकर्ता शुसीला आचार्य तथा वित्तीय साक्षरता सहजकर्ता रमा शर्माले तालिममा सहभागी २३ जना महिलालाई प्रमाणपत्र प्रदान गर्नुभयो।












