घोराही, असार ३१  । नेपाल उद्योग व्यापार महासंघ घोराहीले आफ्नो चौथो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव कल्याण समाजसेवा घरलाई खाद्यान्न सामग्री सहयोग गरेको छ। घोराही उपमहानगरपालिका–१० स्थित सेवा घरमा आयोजित कार्यक्रम महासंघका नगर अध्यक्ष महेन्द्र बुढाथोकीको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष ओबिन्द्र महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यक्रममा चामल, तेल, फ्रुटीलगायतका दैनिक उपभोग्य सामग्रीहरू हस्तान्तरण गरिएकाे थियाे ।

उक्त अवसरमा महासंघका केन्द्रीय सदस्य नरबहादुर अधिकारी, मानव कल्याण समाजसेवा घरका सल्लाहकार तथा घोराही उपमहानगरपालिका–१४ का पूर्व वडाध्यक्ष शक्तिराम डाँगी, नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष शालिग्राम आचार्य, दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य नोर्बु तामाङ, महासंघका नगर महासचिव विकास ओली लगायतको उपस्थिति रहेकाे थियो।

कार्यक्रममा बोल्दै सल्लाहकार डाँगीले मानवताको सेवामा गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै, सामाजिक सेवाभावले मात्र समावेशी र समृद्ध समाज निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयाे।

त्यसैगरी, नगर अध्यक्ष बुढाथोकीले स्थापना दिवसको अवसरमा समाजसेवामा हातेमालो गर्न पाउँदा खुशी लागेको बताउँदै, स्थापना दिवसलाई केवल उत्सवको रूपमा नभई सामाजिक उत्तरदायित्वका रूपमा मनाउँदै आएको बताउनु भयाे । सेवामूलक संस्थाहरूसँगको सहकार्य नै साँचो उत्सव भएको उहाँले बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस