तुलसीपुर, ७ साउन । नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको अवसरमा नेकपा (एमाले) दाङले तुलसीपुरमा एक विशेष अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। पार्टीको जिल्ला कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा वर्तमान सन्दर्भमा पुष्पलालका विचार र सिद्धान्तको सान्दर्भिकता, कम्युनिस्ट आन्दोलनको दिशा तथा सिद्धान्त र व्यवहारबीचको सम्बन्धमाथि गहिरो छलफल गरिएको थियो।
नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीको अध्यक्षता एवम् पार्टी केन्द्रीय सदस्य भागवत विश्वासीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि भागवत विश्वासीले पुष्पलाल श्रेष्ठलाई एक दूरदर्शी नेता, सिद्धान्तमा अडिग राजनीतिज्ञ र नेपाली समाज रूपान्तरणको सपना देख्ने यथार्थवादी विचारकका रूपमा चित्रित गर्नुभयो । उहाँले भन्नुभयाे, “पुष्पलालले सुरु गरेको कम्युनिस्ट आन्दोलनले मुलुकको राजनीतिक दिशा परिवर्तन गर्यो। आज हामी जहाँ छौं, त्यसको जग पुष्पलालले खनेका थिए।”
विश्वासीले अहिलेको राजनीतिमा नैतिकता र सिद्धान्तको खडेरी भएको उल्लेख गर्दै नेताहरूले पुष्पलालको त्याग, इमानदारी र जनमुखी दृष्टिकोणबाट पाठ सिक्नुपर्ने आवश्यकता औंल्याउनुभयाे । “हामीले पुष्पलाल सम्झने मात्र होइन, उनको विचारलाई व्यवहारमा उतार्नुपर्छ,” उहाँले जोड दिनुभयाे।
कार्यक्रममा अन्य वक्ताहरूले पुष्पलालको जीवन संघर्ष, उनीद्वारा सुरु गरिएको विचारधाराको यात्रा र त्यसको वर्तमान राजनीतिक परिप्रेक्ष्यमा अर्थ के छ भन्नेबारे धारणा राखेका थिए। उनीहरूले भनाइमा मात्र होइन, व्यवहारमा पनि पुष्पलालका मूल्य र दृष्टिकोण लागू गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा पुष्पलालको जीवनी, योगदान र दर्शनमाथि केन्द्रित विचारहरु प्रस्तुत गरिएको थियो।
जिल्ला उपसचिव भुवनेश्वर पाैडेलकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य हिराचन्द्र केसी , केन्द्रिय अनुशासन आयोगका सदस्य छविलाल वली, केन्द्रिय परिषद सदस्यद्वय राममणी नेपाली, ढुण्डिराज लामिछाने, प्रदेश सचिव लक्ष्मण आचार्य, प्रदेश सदस्यहरु हुकुम बहादुर बस्नेत, सुरामणी बेल्वासे, रेखा शर्मा लगाएतले बाेल्नुभएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला सचिव श्याम डाँगीले गर्नुभएको थियो ।
त्यस्तै तुलसीपुर उपमहानगरपालीका कमिटिले पुष्पलाल उद्यान्नमा आयोजना गरेको श्रद्धा अर्पण कार्यक्रममा श्रद्धा अर्पण गर्दै नेताहरुले पुष्पलालले अगाडि सारेको विचार अहिले झन् सादर्भिक रहेको बताएका छन् । नगर अध्यक्ष रुप बहादुर खत्रीको अध्यक्षतामा एव् नेकपा एमाले निर्वाचन आयोगका सदस्य केन्द्रिय हिराचन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालीका प्रमुख टिकाराम खड्काले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण सचिव जित बहादुर खड्काले गर्नुभएको थियो ।












