दाङ, साउन ११ । दाङको गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल अवधी संस्कृति संरक्षण प्रतिष्ठान, केन्द्रीय कार्यालय गढवा–दाङको आयोजनामा नागपञ्चमी गुडिया पर्व तथा ५२८औँ तुलसी जयन्ती, सावन–कजरी गायन, घुघुरी वितरण र सम्मान कार्यक्रम आज (आइतबार) गढवा–६, बनकट्टीस्थित अवधी संग्रहालय निर्माणस्थलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राम गोपाल यादवको अध्यक्षतामा भएको थियो। गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल कार्यक्रमका प्रमुख अतिथि रहेका थिए भने गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी र पूर्व गाउँपालिका अध्यक्ष सहजराम यादवको विशिष्ट आतिथ्य रहेको थियो।

यस अवसरमा अवधीभाषा र संस्कृतिको गहिरो झल्को दिने लोक गीत, सावन–कजरी गीत तथा विभिन्न सांस्कृतिक प्रस्तुति गरिएको थियो। यादव समुदायका महिलाहरूले नागपञ्चमी गुडिया पर्वमा आफ्ना भाइ (बिरना) र बुवाको घरबाट ‘घुघुरी’ ल्याउने परम्परा अझै पनि जिवन्त रूपमा चलिआएको उल्लेख गरिएको छ।

पछिल्लो समय लोक संस्कृतिको नाममा केही विकृति देखा परे पनि यादव समुदायमा परम्परागत चाडपर्वहरूलाई जतनसहित मनाइँदै आएको र यसले लोक संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ। विशेष गरी नागपञ्चमीका दिन दाजु–भाइले दिदी–बहिनीका लागि घुघुरी दिने अद्वितीय र अनौठो परम्परा अझै यथावत् छ। घुघुरी दिने क्रममा दाजु–भाइ घर पुग्दा दिदी–बहिनीहरूले रुँदै–बोल्दै भावनात्मक वातावरण सिर्जना गर्ने प्रचलन आज पनि उतिकै प्रचलित रहेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस