घोराही,  साउन १०। दाङ जिल्लामा चालू आर्थिक वर्ष २०८१/८२ मा काठ उत्पादन उल्लेख्य रूपमा वृद्धि भएको छ। डिभिजन वन कार्यालय घोराहीका अनुसार चालु वर्षमा अघिल्लो वर्षको तुलनामा ६१ हजार क्युफिट बढी काठ उत्पादन भएको हो।

कार्यालयका अनुसार सामुदायिक, राष्ट्रिय र निजी वनहरूबाट दुई लाख ३० हजार १७७.३१ क्युफिट काठ उत्पादन हुने लक्ष्य तय गरिए पनि लक्ष्यभन्दा बढी दुई लाख ६३ हजार ४५१.५५ क्युफिट काठ उत्पादन भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा दुई लाख दुई हजार ४१४ क्युफिट मात्र काठ उत्पादन भएको थियो।

यस वर्ष ९९ वटा सामुदायिक वनबाट मात्रै एक लाख ९९ हजार ९६८.५८ क्युफिट काठ उत्पादन भएको छ। त्यसैगरी, राष्ट्रिय वन क्षेत्र (चक्ला) बाट ४ हजार १९८.२६ क्युफिट र निजी वन क्षेत्रबाट ५९ हजार २८४.९१ क्युफिट काठ उत्पादन भएको डिभिजन वन कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी तथा वरिष्ठ वन अधिकृत टेकनप्रसाद आचार्यका अनुसार, उत्पादन भएको कुल काठमध्ये ४७ हजार ७४८.४१ क्युफिट काठ वन समूहभित्र आन्तरिक प्रयोग भएको छ भने २९ हजार ८१३.८५ क्युफिट काठ बाह्य उपभोक्तालाई बिक्री गरिएको छ। बाँकी एक लाख २२ हजार ६३०.५० क्युफिट काठ भने हालसम्म बिक्री नभई वन समूहले घाटगढी गरी भण्डारण गरेको उहाँले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस