महेश बस्नेत
घाेराही, १७ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीकाे आयाेजनामा हस्तलेखन र हिज्जे प्रतियोगिताहरु सम्पन्न भएकाछन् ।
घाेराही उपमहानगरपालिकाभित्र रहेका प्याब्सनमा आवद्ध विद्यालयका कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि आयाेजना गरिएकाे नगरस्तरीय हस्तलेखन प्रतियोगितामा गुरुकुल एकेडेमीका आकृति बिसी प्रथम भएकीछिन् । यसैगरी उक्त प्रतियोगितामा ज्ञानसिन्धु सेकेन्डरी स्कुलका सुयस्ता रेग्मी द्वितीय, मेचिकाली सेकेन्डरी बाेर्डिङ स्कुलका प्रमेश ओली तृतीय र दाङ विद्या सदनका समृद्धि रिजाल सान्त्वना भएकाछन् । उक्त प्रतियोगितामा ३६ विद्यालयका ७२ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
साेहीदिन कक्षा ४ र ५ का विद्यार्थीबीच भएकाे अंग्रेजी हिज्जे प्रतियोगितामा ज्ञानमाला एकेडेमी सर्राका दीक्षा नेपाली, दीक्षा पल्ली मगर र प्रिन्सा ओली प्रथम भएकाछन् । उक्त प्रतियोगितामा ज्याेतीपुञ्ज माेडल स्कुल रामपुरका सुशन बस्नेत, सदिसन आचार्य र सुप्रिया आचार्य द्वितीय भएकाछन् । यसैगरी, राप्ती आमावी घाेराहीका अदिती थापा, लक्ष्मी डाँगी र भावना बिक तृतीय र सिद्धार्थ एकेडेमीका आरध्या गुप्ता, सुजाता जिसी र वैभव भट्टराई सान्त्वना भएकाछन् ।
सिद्धार्थ एकेडेमी घाेराहीमा भएकाे प्रतियोगिताकाे छनाैट चरणमा ४६ विद्यालयले प्रतिस्पर्धा गरेका थिए । छनाैट चरणकाे प्रतिस्पर्धाबाट फाइनल चरणमा ज्ञानमाला एकेडेमी, सिद्धार्थ एकेडेमी, गुरुकुल एकेडेमी, गाेर्खा सकेन्डरी स्कुल, राप्ती आमावि, ज्याेतीपुञ्ज माेडेल स्कुल, हिन्दु विद्या पिठ, यूनिक मिड वेस्टर्न, ग्यालेक्सी एकेडमी र मेचीकाली सेकेन्डरी स्कुल प्रवेश गरेका थिए ।
प्याब्सन घाेराही नगर अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिकाका उपप्रमुख हुमा कुमारी डिसीकाे प्रमुख आतिथ्यतामा भएकाे प्रतियाेगिताका विजेतालाई ट्रफि, मेडल, प्रमाणपत्र र नगद राशी प्रदान गरिएकाे थियाे।
प्रतियोगिताकाे उद्घाटन सत्रमा बाेल्दै प्रमुख अतिथि डिसीले प्याब्सन घाेराहीले सार्वजनिक विदाका दिनमा समेत बालबालिकाका लागि महत्त्वपूर्ण कार्यक्रमहरुकाे आयाेजना गरेर उनीहरुकाे क्षमता विकासमा याेगदान पुर्यााएकाे उल्लेख गर्दै प्रसंशा गर्नुभयाे । अहिलेका बालबालिकाहरु माेबाइलकाे लतमा परेर शिक्षा, संस्कार र समाज बिर्सन थालेकाले अभिभावकहरु नै सचेत हुनुपर्ने उपप्रमुख डिसीले बताउनुभयाे । उहाँले विद्यार्थीहरुलाई जीवनाेपयाेगी सिपसँगै हाम्रा माैलिक संस्कारसहितकाे शिक्षा प्रदान गर्न विद्यालयलाई आग्रह गर्नुभयाे ।
कार्यक्रमका विशिष्ट अतिथि प्याब्सनका केन्द्रीय सदस्य महेन्द्र अधिकारीले प्रतियोगिताले विद्यार्थीहरुलाई थप अध्ययनशील, उर्जाशील र प्रतिस्पर्धी बनाउने उल्लेख गर्नुभयाे । उहाँले विद्यार्थीहरुलाई क्षमतावान बनाउन यस्ता प्रतियोगिताहरु अपरिहार्य रहेकाे उल्लेख गर्नुभयाे ।
प्याब्सन घाेराहीका उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण सचिव विमल भण्डरीले गर्नुभएकाे थियाे ।












