महेश बस्नेत
घाेराही, १८ साउन । शुक्रबार विद्यालयकाे हलभरी विद्यार्थीहरु, कसैकाे प्रतिक्षामा शान्त भएर बसिरहेका देखिन्थे । आयाेजकहरु कार्यक्रमकाे व्यवस्थापनकाे कार्य पूरा गरि अतिथिकाे स्वागतका लागि आतुर देखिन्थे। कार्यक्रमकाे व्यवस्थापन विद्यार्थीले नै गरेका थिए । कतिलाई काे आउदैछ भन्ने काैतुहल थियाे । नयाँ अनुहारसँग साक्षात्कार गर्न कतिपय विद्यार्थीहरु उत्सुक पनि देखिन्थे । सदाझैं आ-आफ्ना कक्षामा नियमित तालिका बमाेजिम अध्ययन गरिरहेका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुकाे एउटै हलकाेठामा सामुहिक उपस्थितिले वातावरण बेग्लै थियाे ।
घडीको सुई दिनकाे मध्येतिर धकेलिदै थियाे, प्रतिक्षारत विद्यार्थीहरुकाे सामु झुलुक्क देखापर्नुभयाे मुक्त कम्लहरी उर्मिला चाैधरी । आयाेजक मध्येका एकदुई जनालाई मात्र थाहा थियाे उर्मिलाकाे जीवन, संघर्ष र सफलता, अधिकाशं विद्यार्थीहरु अनभिज्ञ नै थिए ।
जब कार्यक्रमलाई औपचारिकता दिदै सिर्जनशील बाल क्लबकी सचिव सुदिक्षा ओलीले उर्मिलाकाे परिचय दिन थालिन विद्यार्थीहरुकाे सम्पुर्ण ध्यान उर्मिलातर्फ तेर्सियाे ।
घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा गठित सिर्जनशील बाल क्लबले शुक्रबार विद्यालयमा आयाेजना गरेकाे विद्यार्थीका लागि उत्प्रेरणा कार्यक्रमका प्रमुख उत्प्रेरक हुनुहुन्थ्यो, मुक्त कम्लहरी उर्मिला चाैधरी। वात्सल्यकालमै बाबुआमाकाे न्यानाे छहारीबाट बञ्चित रहि कुनै एक घरकाे चारघेराभित्र सिमित उर्मिलाले विद्यार्थीलाई उत्प्रेरित गर्दै आफ्नाे भविष्यकाे लक्ष्य निर्धारण र सफलता प्राप्त गर्न आफ्नाे लक्ष्यचित्र काेर्न विद्यार्थीलाई सुझाउनु भयाे । “जबसम्म तपाईंहरु आफ्नाे भविष्यकाे लक्ष्यचित्र काेर्नुहुन्न तबसम्म तपाईंहरुले लक्ष्य निर्धारण र सफलता प्राप्त गर्न सक्नुहुन्न”, उर्मिलाले भन्नुभयाे ।
बाल्यकालमै कम्लहरी बसेेर दुःख र पीडाका अनुभवहरु विद्यार्थीमाँझ सुनाउँदै उर्मिलाले १७ बर्षकाे उमेरमा कखरा सुरु गरेर अहिले कानुन विषयकाे अध्ययन पूरा गर्न थालेकाे बताउँदै पढाइलाई पहिलाे प्राथमिकतामा राख्न विद्यार्थीलाई अनुराेध गर्नुभयाे । उर्मिलाका जीवनमा आएका उतावचढाव र संघर्षका कथाहरु सुनिरहेका विद्यार्थीमा उब्जिएका प्रश्नहरुकाे जवाफ दिँदै उर्मिलाले भन्नुभयाे, “बुबा बिरामी हुँदा लिएकाे ४ हजार ऋणकाे भारी कटाउन आफू सानैमा कम्लहरी बस्नुुपर्याे ।” सत्य र कारुनिक उर्मिलाकाे जीवनकथा सुनिरहेेका विद्यार्थीहरु स्तब्ध देखिन्थे ।
देश, समाज र आफ्नाे समुदायका लागि याेगदान दिनलाई आफू सामाजिक कार्यमा सक्रिय रहेकाे उल्लेख गर्दै उर्मिलाले विद्यार्थीहरुलाई स्वदेशमै बसेर देश र समाजका लागि असल काम गर्न उत्प्रेरित गर्नुभयाे ।
सिर्जनशील बाल क्लबकी अध्यक्ष अदिती केसीकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियाे । विद्यालयमा गठित नेपाल जुनियर रेडक्रस सर्कलकी अध्यक्ष स्मारिका चाैधरीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रममा किशोरी क्लबकी अध्यक्ष करिना जिसीले धन्यवाद व्यक्त गर्नुभएको थियाे ।












