दाङ, साउन २० । दाङलगायत आसपासका जिल्लामा गएरातिदेखि लगातार वर्षा भइरहेको छ। दाङ, रोल्पा र रुकुममा भारी वर्षा भइरहेकाले जिल्ला प्रशासन कार्यालय दाङले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।
लगातारको वर्षाका कारण राप्ती नदी, बबई नदी, सेवारखोला, कालाखोला, ग्वारखोला, सक्राम खोला र पातुखोलाको पानीको बहाव बढ्दै गएको छ। हालसम्म पानीले खतरा तह पार नगरेको भए पनि लगातारको वर्षाका कारण होचा स्थानमा डुबान र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले जानकारी दिनुभयो।
हाल घोराही–तुलसीपुर सडकखण्डमा सवारी सञ्चालन भइरहेको भए पनि दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ। सडक अबरुद्ध हुँदा गन्तव्यतर्फ जाँदै गरेका सयौँ यात्रु बिचबाटोमै रोकिएका छन्।
मौसम पूर्वानुमान महाशाखाको जानकारीअनुसार, दाङ हुँदै बग्ने बबई र राप्ती नदीको जलस्तर सतर्कता सीमाभन्दा माथि पुग्ने सम्भावना छ। यसले गर्दा डुबान र कटानको जोखिम उच्च हुने चेतावनी दिइएको छ।
जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका महिला, बालबालिका, वृद्ध तथा अपांगता भएका व्यक्तिहरूलाई विशेष सतर्कता अपनाउन र सुरक्षित स्थानतर्फ सर्न स्थानीय सुरक्षा निकायमार्फत आग्रह गरिएको छ।
त्यसैगरी, नदी आसपासका बस्ती रहेको पालिकाहरूलाई सुरक्षा व्यवस्था कडाइ गर्न र वडास्तरका विपद् व्यवस्थापन समिति, सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिहरूलाई जोखिम मूल्याङ्कन गर्दै तुरुन्त प्रतिक्रिया जनाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिनुभयो।













