दाङ, साउन ३ । आउँदो कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपचुनावका लागि २६ वटा राजनीतिक दल दर्ता भएका छन् । दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानूनी रित पूरा भएका २६ दललाई निर्वाचन आयोगको हिजोको निर्णय अनुसार दर्ता गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम उपनिर्वाचनका लागि दल दर्ता गरिएको हो । आयोगले सबैभन्दा पहिले मङ्गोल नेशनल अर्गनाइजेशन दर्ता हुन आएको जनाएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लागि नेपाली पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनप्रजातान्त्रिक पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) दर्ता भएका छन् । साथै नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), संयुक्त नागरिक पार्टी,  नेकपा(एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेकपा(माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, नेपाली जनता दल दर्ता भएको छ ।

त्यस्तै, राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपाललगायतका दल उपनिर्वाचनका लागि दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै आउँदो असोज २१ गते उम्मेदवार मनोनयन दर्ताको दिन तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस