दाङ, भदौ ६ । पाँच वर्षको अवधिमा दाङमा ७१ हजार ७१८ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल जनसंख्याको करिब १०.६२ प्रतिशतले बीमा गरेका हुन्।
स्वास्थ्य बीमा बोर्ड दाङका संयोजक वसन्त लामिछानेका अनुसार सहभागीमध्ये ३७ हजार ७९८ महिला र ३३ हजार ९२० पुरुष रहेका छन्। घोराही उपमहानगरपालिकामा सबैभन्दा बढी ३७ हजार २०८ जनाले बीमा गरेका छन्।
उनका अनुसार हाल बीमा गर्ने नागरिकको संख्या बढ्दो क्रममा छ। पाँच जनासम्मको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ तिरेपछि एक लाख रुपैयाँ बराबरको उपचार सुविधा पाउँछन् भने अतिरिक्त सदस्यका लागि सात सय रुपैयाँ थप्दै दुई लाखसम्मको बीमा हुने व्यवस्था छ।












