घाेराही, ६ भाद्र । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीको आयाेजनामा शिक्षा विधेयकका विरुद्ध बस र्याली गरिएकाे छ ।

सरकारले ल्याउन लागेकाे शिक्षा विधेयक २०८० मा निजी विद्यालयलाई बन्द गर्ने गरि प्रावधानहरु राखिएकाे भन्दै प्याब्सन केन्द्रकाे निर्देशन अनुसार पालिकाहरुले शुक्रबार देशभर बस र्याली गरेका हुन् । केन्द्रकाे निर्देशन बमाेजिम प्याब्सन घाेराही नगर कमिटीको आयाेजनामा प्याब्सन घाेेराहीमा आबद्ध निजी विद्यालयका १ सय भन्दा बढी बसहरुले घाेराही बजार परिक्रमा गरेका थिए ।
कालाे झण्डा र ब्यानरमा लामबद्ध बसहरुले शान्तिपूर्ण आन्दाेलनकाे रुपमा घाेराहीकाे तुलसीपुर चाेकबाट र्याली सुरु गरेका थिए । र्याली न्यूराेड हुँदै लखन पार्क, नयाँ बजार, निमाहल राेड, ट्राफिक चाेक, मेनराेड, सहिद गेट, जेसीज मार्ग, जिल्ला प्रशासन, दीपशिखा चाेक, जिप्रका राेड भएर पून: तुलसीपुर चाेकमा पुगि समापन भएकाे थियाे ।
कम्पनीमा दर्ता भएका निजी लगानीमा सञ्चालित विद्यालयहरु मुनाफारहित तवरले सञ्चालन गर्न नसकिने प्याब्सनले जनाएकाे छ। प्याब्सनले “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाइनु पर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना -खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई “गैर-नाफामूलक” बनाउदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने माग राखेकाे छ।
यसैगरी, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने माग प्याब्सनले गरेकाे छ। प्याब्सनले छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १० (क) मा ४५% आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गत कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनुपर्ने माग गरेकाे छ।












