दाङ, भदौ ८ । कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टविरुद्ध दाङ जिल्लामा सञ्चालन गरिएको खोप अभियानमा ११ हजार ८२१ जनाले फाइजर–बायोएनटेक मोनोभ्यालेन्ट खोप प्राप्त गरेका छन्। जिल्ला स्वास्थ्य कार्यालयले दशवटै स्थानीय तहमा जम्मा १२ हजार नागरिकलाई खोप दिने लक्ष्य राखेको भए पनि त्यसअनुसार पूरा हुन सकेन।

स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति वलीका अनुसार सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिकामा खोप लगाइएको छ। तुलसीपुरमा पाँच हजार चार जनालाई खोप दिने लक्ष्य रहेकोमा पाँच हजार जनाले खोप लिएका छन्। त्यसैगरी घोराही उपमहानगरपालिकामा दुई हजार चार जनाको लक्ष्य भए पनि एक हजार नौ सयले मात्र खोप लगाए। दंगीशरण गाउँपालिकामा ६९६ मध्ये ६३५, शान्तिनगरमा ५०० मध्ये ४९३, बबईमा २९४ मध्ये २८२ र राजपुरमा २०४ मध्ये २०३ जनाले खोप लिएका छन्।

यस्तै, राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा लक्ष्य गरिएको एक–एक हजार २० जनाले पूर्णरूपमा खोप पाए। लमही नगरपालिकामा ९६० जनाको लक्ष्य अनुसार सबैलाई खोप लगाइयो भने बंगलाचुली गाउँपालिकामा ३०० को लक्ष्यसहित सबैले खोप पाएका वलीले बताए।

उनका अनुसार जिल्लामा पर्याप्त तयारी भए पनि कुल लक्ष्यअनुसार सबैलाई खोप दिन नसकिएको हो। हाल नेपालमा देखा परेको नयाँ ओमिक्रोन भेरियन्टका विरुद्ध भदौ २ देखि ४ गतेसम्म ९५ वटा खोप केन्द्रमार्फत १२ वर्षमाथिका बालबालिका, वयस्क तथा ज्येष्ठ नागरिकलाई निःशुल्क खोप दिइएको थियो।

वलीले कोभिड–१९ का लागि निश्चित उपचार औषधि नहुँदा रोगको सङ्क्रमण रोकथामका उपायस्वरूप सरकारले उपलब्ध गराएको खोप विशेष जोखिममा रहेका नागरिकलाई प्राथमिकताका साथ लगाइएको बताए।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस