घोराही, भदौ ९ । नागरिक समाज दाङले नेपाल सरकारले आगामी असोज १ गतेदेखि सवारीसाधनमा अनिवार्य रूपमा लागू गर्न लागिएको इम्बोस्ड नम्बर प्लेटलाई देवनागरी लिपीमा कायम गरेर मात्र कार्यान्वयन गर्न माग गरेको छ ।

समाजको आइतबार घोराहीमा बसेको बैठकले संविधानले सरकारी कामकाजको भाषा नेपाली हुने व्यवस्था गरेको स्मरण गराउँदै, इम्बोस्ड नम्बर प्लेटमा अंक र अक्षर देवनागरी लिपीमै राख्नुपर्ने र उपभोक्तालाई सहज रूपमा उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठक समाजका जिल्ला संयोजक नीमबहादुर थापाको अध्यक्षतामा बसेको थियो । बैठकले घोराही उपमहानगरपालिका–१४ झिँगौरास्थित स्वर्गद्वारी आश्रम नजिकको वर्षौ पुरानो सार्वजनिक पीपल चौतारी परिसरमा वडा कार्यालयमार्फत स्थानीय टोल विकास संस्थाका लागि भवन निर्माण गरिँदा ऐतिहासिक धरोहर नै मासिने खतरा देखिएकाले संरचना हटाई चौतारीलाई साविककै अवस्थामा संरक्षण गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

त्यस्तै, भारत र चीनबीच हालै भएको लिपुलेक व्यापारिक द्विपक्षीय सम्झौताले नेपालको सार्वभौम सत्ता र भौगोलिक अखण्डतामाथि आँच पुगेको भन्दै बैठकले उक्त सम्झौतामाथि तत्काल पुनर्विचार गर्न र त्रिपक्षीय आपसी सहमतिको आधारमा मात्र अघि बढाउन कूटनीतिक पहल गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

बैठकले आगामी असोज २५, २६ र २७ गते नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डीमा हुन लागेको अन्तर्राष्ट्रिय योग सम्मेलन भव्य रूपमा सम्पन्न गर्न समाजका तर्फबाट आवश्यक सहयोग र पहल गर्ने निर्णय पनि गरेको सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उनका अनुसार, बैठकले अटवारी, हरितालिका तीजलगायत नेपाली समुदायका पर्वहरू सभ्य, मर्यादित र व्यवस्थित ढंगले मनाउँदै परम्परागत संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जोड दिन सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस