काठमाडौं, भदाै १० । यातायात क्षेत्रसँग सम्बन्धित मजदुर संगठनहरूले आवश्यक पूर्वाधार निर्माण नगरी सम्पूर्ण सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्न सरकारलाई आग्रह गरेका छन् ।
सरकारले आगामी असोज १ गतेदेखि सबै सवारीसाधनमा अनिवार्यरूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको छ । सो सम्बन्धी सूचना यातायात व्यवस्था विभागले भदौ ३ गते सार्वजनिक गरेको थियो । उक्त सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संगठनहरूले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “संविधानले व्यवस्था गरेअनुसार सरकारी कामकाजको भाषा देवनागरी लिपि अर्थात् राष्ट्रलिपिमा हुनुपर्नेमा अंग्रेजी लिपिमा लेखिएको नम्बर प्लेट संविधानको मर्म विपरीत छ । साथै, इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिटी) चिप्स रिड गर्न आवश्यक प्राविधिक पूर्वाधार नै नभएको अवस्थामा यसलाई अनिवार्य गर्नु युक्तिसंगत हुँदैन ।”
संगठनहरूले १४ वैशाख २०८० मा नेपाल राजपत्रमा प्रकाशित गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भाग–२ मा देवनागरी र अंग्रेजी दुवै लिपि मिश्रित हुने व्यवस्था गरिएको भए पनि विभागले जारी गरेको सूचना त्यसको विपरीत रहेको उल्लेख गरेका छन् ।
नेपाल सरकारले करिब एक दशकअघि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको भए पनि यसको कार्यान्वयन न्यून भएको, अझै पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न नसकिरहेको तथा दुई वर्षसम्म नागरिकले लाइसेन्ससमेत पाउन नसकेको अवस्थाको स्मरण गराइएको छ । यस्तो अवस्थामा लाखौं सवारीसाधनमा एकैपटक इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय अविश्वासिलो र शंकास्पद रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन र समयानुकूल सुधार गर्न हामी सधैं सकारात्मक छौं,” विज्ञप्तिमा भनिएको छ, “तर, स्वदेशमै नम्बर प्लेट उत्पादन गर्न सक्ने, डाटा सुरक्षाका दृष्टिले अन्य मुलुकको पहुँच बाहिर राख्ने, पर्याप्त प्राविधिक पूर्वाधार तयार गर्ने र सरोकारवालासँग पर्याप्त छलफल गर्ने वातावरण बनेपछि मात्र सहुलियत शुल्कमा नम्बर प्लेट अनिवार्य गरिनुपर्छ भन्ने हाम्रो माग हो ।”
यस संयुक्त विज्ञप्तिमा नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीले हस्ताक्षर गरेका छन् ।












