दाङ, भदौ १२ । दाङको नेपाल–भारत सीमा नाका कोइलाबास हुँदै पछिल्ला पाँच वर्षमा १११ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले २०७७ चैत ४ गते स्थापना भएको शान्ति पुनस्र्थापना गृह, कोइलाबासले स्थानीय सरकार र नेपाल प्रहरीसँगको सहकार्यमा भारततर्फ लैजाँदै गरेका तथा भारतमा बेचबिखनमा परेका नेपाली महिला–बालबालिकालाई उद्धार गर्दै आएको हो।
संस्थाका परामर्शदाता सीमा जिसीका अनुसार २०७७/७८ मा २ जना, २०७८/७९ मा २८ जना, २०७९/८० मा २३ जना, २०८०/८१ मा २८ जना र २०८१/८२ को असार मसान्तसम्म ३० जनाको उद्धार गरिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा उद्धार गरिएका ३० जनामध्ये दाङका २० जना, प्युठानका दुई जना, कपिलवस्तु, नवलपरासी, सुर्खेत, संखुवासभा र दैलेखका एक–एक जना रहेका छन्। त्यस्तै, बलरामपुर र सिद्धार्थनगर (भारत) का तीन जनाको पनि उद्धार गरिएको थियो।
शान्ति पुनस्र्थापना गृहले विगत पाँच वर्षमा ३,५६३ जना महिला तथा बालबालिकालाई सचेतना परामर्श समेत दिएको जनाएको छ। संस्था अध्यक्ष शान्ता सापकोटाका अनुसार मानव बेचबिखनलाई नियन्त्रण गर्न उद्धारसँगै सुरक्षित आवास, कानुनी सहयोग, मनोसामाजिक परामर्श र अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउने काम भइरहेका छन्।
गढवा गाउँपालिका–८ का अध्यक्ष अब्दुल खालिक सिद्दिकीले नेपाल–भारत सीमावर्ती क्षेत्रमा विशेष गरी महिला र बालबालिकालाई विभिन्न बहानामा भारततर्फ लैजाने प्रयास बढेकाले यस्तो अपराध रोकथाममा संस्थाको योगदान उल्लेखनीय रहेको बताए।












