भरत वली
रोल्पा, भदौ १५ । रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको दोस्रो अधिवेशनअन्तर्गत भदौ १४ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सम्पन्न निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको छ।
निर्वाचन समितिका संयोजक अधिवक्ता दामोदरप्रसाद सुवेदीले सार्वजनिक गर्नुभएको नतिजाअनुसार समितिको अध्यक्षमा सुमन विक ४०५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा ४०० मतसहित रेवती आचार्य विजयी हुनुभएको छ। त्यस्तै, महासचिवमा ४६२ मत पाएर अशोक आचार्य, सचिवमा ३९५ मतसहित रुपसरा बुढामगर र कोषाध्यक्षमा ३८१ मत प्राप्त गरी शिला विक निर्वाचित हुनुभएको छ।
सदस्यतर्फ गीता घर्तीले ३९० मत, दर्गाप्रसाद शर्माले ३८५ मत, दीपसरा बुढामगरले ३८० मत, देवबहादुर कवरले ३८१ मत, रामी दमाईले ३८० मत र रेशमबहादुर पुनले ३८८ मत प्राप्त गरी विजयी बन्नुभएको छ।
अन्य पदका प्रत्यासीहरूले उल्लेखनीय मत प्राप्त गरे पनि निर्वाचित हुन सकेका छैनन्। नयाँ नेतृत्व चयनसँगै खानेपानी तथा सरसफाइ क्षेत्रमा आगामी कार्यकालमा अझ प्रभावकारी कार्य हुने अपेक्षा गरिएको छ।
निर्वाचनमा दुई प्यानलबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार पदाधिकारीदेखि सदस्यसम्म दुवै प्यानलले पूर्ण उम्मेदवार खडा गरेका थिए।
अध्यक्षमा रामबहादुर बुढाथोकी प्यानलतर्फ उपाध्यक्षमा गौरादेवी केसी, महासचिवमा तिर्थाकुमारी शर्मा, सचिवमा कृष्णी कुमारी गौतम र कोषाध्यक्षमा सुधा न्यौपाने उम्मेदवार बनेका थिए। सदस्यतर्फ गोविन्द पुन, चुडामणि शर्मा, दुर्गाप्रसाद शर्मा, दीपसरा बुढामगर, देवबहादुर कवर, मनिका घर्ती कवर र रेशमबहादुर पुन प्रतिस्पर्धामा उत्रिएका थिए।
अध्यक्षमा सुमन विक प्यानलतर्फ उपाध्यक्षमा रेवती आचार्य, महासचिवमा अशोक आचार्य, सचिवमा रुपसरा बुढामगर र कोषाध्यक्षमा शिला विक (कामी) उम्मेदवार बनेका थिए। सदस्य पदमा गीता घर्ती, जमलाल रोकामगर, दीपककुमार घर्ती, रामी दमाईलगायतले उम्मेदवारी दिएका थिए।












