दाङ, भदाै १५ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको असामयिक निधनप्रति मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेरा बाछी गाउँ निवासी पुनको भदौ १४ गते शनिबार काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

केही दिनअघि छोरी जन्म दिने क्रममा ठूलो शल्यक्रिया गरिएको थियो भने त्यसपछि मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो। उपचारकै क्रममा उनले जीवन गुमाएकी हुन्।

मुख्यमन्त्री आचार्यका अनुसार पुनको निधनले प्रदेश मात्र नभई समग्र नेपाली समाजलाई शोकाकुल बनाएको छ। उनले प्रदेश सभा सदस्यको रूपमा समाज परिवर्तन, सुशासन र जनआकांक्षालाई सम्बोधन गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याएकी थिइन्।

“पुनको असामयिक निधनले लुम्बिनी प्रदेशले एक दूरदर्शी, इमानदार, अनुशासित, विकासप्रेमी र निष्ठावान जनप्रतिनिधि गुमाएको छ, यो अपूरणीय क्षति हो,” मुख्यमन्त्री आचार्यले जारी गर्नुभएको श्रद्धाञ्जली वक्तव्यमा उल्लेख छ।

आचार्यले स्मरण गरे कि पुन सधैं दुर्गम क्षेत्रका जनताको पीडा, माग र अपेक्षालाई आवाज दिने नेतृका रूपमा परिचित थिइन्। उनका सरल जीवनशैली, जनमुखी सोच र निरन्तर जनसेवा आजीवन प्रेरणाको स्रोत बन्ने छन्।

 

 

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस