भरत वली
रोल्पा, भदौ १५ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार रोल्पामा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
मनसुन सक्रिय रहँदै आएको, मध्यमदेखि भारी वर्षा भइरहेको तथा वर्षातका कारण शहीद मार्ग र भित्री सडकका विभिन्न स्थानमा पहिरो खस्दै सडक अवरुद्ध भइरहेकाले भदौ १६ गतेदेखि २५ गतेसम्म बेलुकी ६ बजेदेखि बिहान ५:३० बजेसम्म सवारी आवागमनमा रोक लगाउने निर्णय गरिएको हो । यसअघि भदौ १५ गतेसम्म रातिको समयमा रोक लगाउने निर्णय गरिएको भए पनि निरन्तर वर्षाका कारण अवधि थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सवारी सञ्चालनमा रोक लगाउने यस निर्णयलाई कार्यान्वयन गर्न जिल्लास्थित सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, यातायात व्यवसायी, सञ्चारकर्मी, बुद्धिजीवी लगायत सबैको सहकार्य अपेक्षा गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनले विशेष परिस्थितिमा बिरामी बोकेको वा आकस्मिक बिरामी लिन जाने एम्बुलेन्सले मात्र राजमार्गमा रहेका सुरक्षा इकाइसँग समन्वय गरी सञ्चालन गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ












