दाङ, भदौ १६ । दाङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विश्वप्रकाश अर्यालले जिल्लामा बढ्दै गएको लागुऔषधको प्रयोग तथा कारोबार नियन्त्रण गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।

भर्खरै सरुवा भई दाङ आएका प्रजिअ अर्यालले आइतबार सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै लागुऔषध दुव्र्यसनी रोकथाम, शान्ति–सुरक्षाको सुदृढीकरण र आपराधिक गतिविधिको नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता हुने बताए। उनले भने, “लागुऔषध सेवन र ओसारपसारका घटना बढ्दो क्रममा छन्, यसलाई नियन्त्रण गर्न राज्यका निकाय मात्र होइन, समुदायकै सक्रिय सहभागिता आवश्यक छ।”

उनका अनुसार दाङमा भौगोलिक चुनौती भए पनि ठूला सुरक्षा समस्या भने छैनन्। तर सामाजिक अपराध, लागुऔषध कारोबार र अन्य विकृति–विसंगतिबाट हुने असर न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने अवस्था रहेको उनले बताए। साथै, विकास निर्माणका काम समयमै सम्पन्न गराउने, अभिलेख व्यवस्थापन सुधार गर्ने र सूचना प्रवाहलाई सहज बनाउन प्रशासन सक्रिय रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

प्रजिअ अर्यालले जिल्लाको समग्र हितलाई केन्द्रमा राखेर आफ्नो कार्यकाल अघि बढाउने उल्लेख गर्दै नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रणमा विशेष ध्यान दिने बताए।

कार्यक्रममा पत्रकारहरूले सहज सूचना प्रवाहको वातावरण निर्माण, सरकारी निकायका सूचनाहरू स्थानीय सञ्चारमाध्यममार्फत समयमै उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरे। साथै, चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्ष सुदीप गौतमलगायतले आफ्ना विचार राखेका थिए। कार्यक्रमको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस