काठ्माण्डाै, भदाै २० । सत्तारूढ नेकपा (एमाले)का देशभित्र र बाहिर गरी ६ लाख ६२ हजार ९६१ संगठित सदस्य रहेको खुलासा भएको छ।
शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा यो विवरण उल्लेख गरिएको हो। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार नेपाल, भारत (प्रवास) र तेस्रो मुलुक (प्रवास)हरूमा गरी उक्त सङ्ख्यामा संगठित सदस्य छन्।
प्रतिवेदनअनुसार कुल संगठित सदस्यमध्ये दुई लाख ५८ हजार १६ महिला र चार लाख ५७ हजार १४५ पुरुष छन्। सातवटै प्रदेशमध्ये एमालेका सबैभन्दा बढी संगठित सदस्य मधेश प्रदेशमा छन्। मधेशमा एक लाख ५६ हजार जनाले सदस्यता लिएका छन्, जसमा एक लाख ६५१ पुरुष र ५५ हजार ३९० महिला छन्।
त्यसैगरी, सबैभन्दा कम कर्णाली प्रदेशमा ४७ हजार ६४७ (३३ हजार ३८८ पुरुष र १४ हजार २५९ महिला) सदस्य छन्। कोशी प्रदेशमा एक लाख ४७ हजार १०, बागमतीमा एक लाख १६ हजार ४९९, लुम्बिनीमा ८० हजार ३५२, सुदूरपश्चिममा ६३ हजार ११० र गण्डकी प्रदेशमा ५५ हजार ५१२ जनाले एमालेको संगठित सदस्यता लिएका छन्। उपत्यका विशेष प्रदेशमा आठ हजार ७८१ सदस्य रहेको छ भने सम्पर्क शीर्षकमा १३ हजार ७५२ सदस्य उल्लेख छ।
एमालेको प्रतिवेदनअनुसार भारत (प्रवास)मा एक हजार २६७ पुरुष र ४७६ महिला गरी एक हजार ७५२ सदस्य छन्। तेस्रो मुलुक (प्रवास)मा तीन हजार ७ सय पुरुष र ९३० महिला गरी चार हजार ६२० सदस्य रहेका छन्। त्यस्तै, केन्द्रीय कार्यालयमा १८५ महिला र ६६५ पुरुष गरी ८५० संगठित सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ।












