oplus_1024

तुलसीपुर, भदौ २२ । तुलसीपुर–१८ ग्वारखोला तट क्षेत्र वर्षौंदेखि अतिक्रमण गरी बनाइएका संरचना हटाइएको छ। तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १८ का अध्यक्ष माधव वलीको नेतृत्वमा अतिक्रमण गरी व्यक्तिगतरूपमा निर्माण गरिएका संरचना, रोपिएका बालीनाली र रुख–बिरुवा हटाइएको हो। जनप्रतिनिधि, स्थानीयवासी, नेपाल प्रहरी र नगर प्रहरीको सक्रियतामा अतिक्रमित जग्गा खाली गराइएको हो।

प्रवक्ता वलीका अनुसार विगतमा सरकारी जग्गा अतिक्रमण गर्ने गिरोह सक्रिय भएकाले सम्पूर्ण संरचना हटाई उक्त क्षेत्रमा खेलमैदान र किसानले उत्पादन गरेका कृषिजन्य वस्तु बिक्री–वितरणका लागि टहरा निर्माण गरिएको छ। ‘वडाभित्रका सम्पूर्ण राजनीतिक दल, सरोकारवाला र स्थानीयबासीबीचको सहमतिमा अतिक्रमित क्षेत्रका बालीनाली र संरचना हटाउन सुरु गरेका हौं,’ उहाँले भन्नुभयो, ‘खाली गराइएको जग्गालाई टोलवासीकै हित हुने गरी प्रयोगमा ल्याइनेछ।’

उहाँका अनुसार पछिल्लो समय सार्वजनिक जग्गा व्यक्तिले कब्जा गर्ने प्रवृत्ति बढेकाले त्यसरी कब्जा गरिएका जग्गालाई सरकारको स्वामित्वमा ल्याउने अभियान सुरु गरिएको हो। नुनथलो र गौचरणजस्ता सार्वजनिक जमिन व्यक्तिले कब्जा गरेकाले त्यहाँ बनाइएका संरचना हटाइसकेपछि चारैतिर तारबार गरेर संरक्षण गरिने योजना रहेको प्रवक्ता वलीले जानकारी दिनुभयो।

बालुवा टोल विकास संस्थाका सचिव ओमप्रकाश भट्टराईले खाली गराइएको जग्गालाई स्थानीय हित हुने गरी प्रयोगमा ल्याएमा सरकारी जग्गा संरक्षणमा स्थानीयको अपनत्व बढ्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, ‘अब उक्त जग्गालाई संयुक्त रूपमा बगर खेती, फलफूल खेती वा अन्य सामूहिक प्रयोजनका लागि प्रयोगमा ल्याउनुपर्छ। यसो भएमा नागरिकमा पनि यो जमिन जोगाउनुपर्छ भन्ने भावना विकास हुन्छ।’

अर्का स्थानीय सागर रेग्मीका अनुसार बाढी आउँदा खोला छेउँमा कटान हुने भएकाले अतिक्रमण हटाइएको क्षेत्रमा वृक्षरोपण गरेर बाढीको कटान रोक्न सकिन्छ। ‘त्यो क्षेत्रलाई सामुदायिक वनका रूपमा विकास गर्दा पनि उपयुक्त हुन्छ,’ उहाँले भन्नुभयो, ‘टोलबासीले नै बिरुवा रोपी संरक्षण गर्न सके ग्वारखोलामा आउने बाढीले गर्ने कटानको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस