राेल्पा, भदाै २५ । रोल्पामा सुरक्षा समितिकाे बैठक सम्पन्न छ । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव दाहालको अध्यक्षतामा बुधबार बसेकाे बैठकले जिल्लाको शान्ति–सुरक्षा तथा सुव्यवस्था सम्बन्धी निर्णय गरिएको हाे ।
जिल्ला प्रशासन कार्यालय, रोल्पामा बसेको उक्त बैठकमा प्रमुख सेनानी ईश्वर थापा (नेपाली सेना सूर्यदल गण, रोल्पा), प्रहरी नायब उपरीक्षक (डीएसपी) बिरेन्द्र बीर विश्वकर्मा (जिल्ला प्रहरी कार्यालय, रोल्पा), सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेन्द्र कुमार पाण्डे (सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म, रोल्पा), प्रअअ दिनेश पोखेल (राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, रोल्पा) र प्रअ पदम बहादुर डाँगी (जिल्ला प्रशासन कार्यालय, रोल्पा) लगाएतकाे सहभागी रहेकाे थियाे ।
बैठकले देशव्यापी रूपमा जेनजि (GEN-Z) समूहले गरेका आन्दोलनको प्रभाव तथा त्यसबाट जिल्लामा पर्न सक्ने सम्भावित सुरक्षा चुनौतीबारे छलफल र विश्लेषण गरेको छ। २०८२ भदौ २३ र २४ गतेका आन्दोलन अन्य जिल्लाको तुलनामा रोल्पामा सामान्य भए पनि आगामी दिनमा सम्भावित चुनौतीलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरिएको छ।
यसका लागि जिल्लाभित्र रहेका सरकारी कार्यालय, कारागार, बैंक तथा वित्तीय संस्था, सामाजिक संघ–संस्था र अन्य महत्वपूर्ण सार्वजनिक भौतिक सम्पत्तिको सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय गरिएको बैठकले जनाएको छ।













