राजेश नेपाली
राेल्पा, भदाै २९ । राेल्पा जिल्लाको ग्रामीण क्षेत्रमा बाल विवाह न्यूनिकरण र जनचेतना जगाउने उद्देश्यले प्रहरी चौकी सिर्पले सडक नाटक आयोजना गर्न लागेको छ। उक्त कार्यक्रम प्रहरी चौकी सिर्प र गोकुल माध्यमिक विद्यालय सिर्पको संयुक्त पहलमा सञ्चालन हुने भएको छ।
सानै उमेरमा हुने विवाहलाई परिवार, समुदाय तथा समाजले सहज रूपमा स्वीकार्ने गलत मान्यता अझै कायम रहेकाले बाल विवाह न्यूनिकरणमा चुनौतिहरू रहेको प्रहरी चौकी सिर्पका प्रहरी सहायक निरीक्षक दिपक किसानले बताउनुभयो। उहाँका अनुसार, “हाम्रो समाजमा रहेको परम्परावादी सोचाइमा परिवर्तन नआएसम्म बाल विवाहको न्यूनिकरण असम्भव छ। तर अभिभावक र किशोर–किशोरीलाई सैद्धान्तिक तथा व्यवहारिक शिक्षाको माध्यमबाट यो अभ्यास रोक्न आवश्यक छ।”
किसानले बाल विवाह केवल सामाजिक अपराध मात्र नभई मानव विकासको अवरोध समेत भएको उल्लेख गर्नुभयो। यसले आमा र शिशुको स्वास्थ्यमा समस्या सिर्जना गर्ने मात्र होइन, भविष्यमा विवाह, सम्बन्ध विच्छेद र अन्य दीर्घकालीन समस्याहरू निम्त्याउने भएकाले समयमै रोकथाम आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रम श्री गोकुल माध्यमिक विद्यालयमा हुने बताइएको छ। यसमा जनप्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहने जनाइएको छ।












