काठमाडौँ, भदौ ३१ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे पर्ने जनाएको छ। समितिले सोमबार सार्वजनिक गरेको सूचनामा असोज ६ गतेदेखि बडादशैं सुरु हुने र सो दिन घटस्थापना हुने उल्लेख गरिएको छ।
समितिका अनुसार घटस्थापनाको साइत असोज ६ गते बिहान ९:१३ बजे पर्छ। यसै दिन घरघरमा जमरा राखी नौ दिनसम्म देवीको पूजा आराधना गर्ने परम्परा रहेको छ। २०८२ सालको दशैंमा घटस्थापनादेखि नवमी र विजयादशमीसम्म विशेष धार्मिक अनुष्ठान हुने जनाइएको छ। असोज १६ गते दशमीका दिन बिहान ११:५३ बजे टीकाको उत्तम साइत भए पनि भक्तजनले परम्पराअनुसार दिनभर टीका लगाउने चलन रहेको समितिले जनाएको छ। टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ ।
दशैंलाई नेपालीहरूको सबैभन्दा ठूलो चाड मानिन्छ, जसमा परिवारका ज्येष्ठ सदस्यले आशिर्वादस्वरूप टीका र जमरा दिने परम्परा छ। समितिले साइत तोकिएअनुसार पालना गर्न आग्रह गरेको छ।













