दाङ, असाेज २ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा जीवन गुमाएका व्यक्तिप्रति दाङको लमही नगरपालिकाले गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले आन्दोलनका क्रममा सहादत प्राप्त शहीदहरूलाई सम्मान गर्न र पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले तत्काल राहतस्वरूप प्रत्येक परिवारलाई १ लाख ३६ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेको प्रवक्ता मोहन गिरीले जानकारी दिनुभएकाे छ । उहाँका अनुसार यो सहयोगले पीडित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।
प्रवक्ता गिरीले नगरका जनप्रतिनिधिहरू व्यक्तिगत रूपमा पनि सहिद परिवारलाई सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै, “नगरपालिकाको तर्फबाट मात्र होइन, व्यक्तिगत रूपमा पनि पीडित परिवारसँगै रहनेछौं,” उहाँले भन्नु भयाे ।
लमही नगरपालिकाले आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्योपचारलाई समेत प्राथमिकतामा राख्दै आवश्यक सहयोग गर्ने तयारी गरिरहेको छ । साथै, स्थानीय तहले शान्तिपूर्ण संवाद र समस्या समाधानमा पहल गरेर यस्ता घटनाहरू दोहोरिन नदिन प्रयास गरिने जनाएको छ ।

