घोराही, असाेज ३ । दाङको घोराहीस्थित मेधावी कन्सर्नले बिहीबारदेखि पुस्तक प्रदर्शनी सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमका बिच कन्सर्नका सञ्चालक सूर्य विसीको अध्यक्षतामा वरिष्ठ पत्रकार तथा साहित्यकार नारायणप्रसाद शर्माले प्रदर्शनीको उद्घाटन गर्नु भएकाे हाे । दशैं विशेष छुटका साथ सञ्चालनमा आएको यो प्रदर्शनी असोज १० गतेसम्म चल्ने बताइएकाे छ ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शर्माले यो पुस्तक प्रदर्शनीको पहिलो नमुना हेर्ने अवसर पाउँदा आफू अत्यन्तै खुशी भएको बताउनु भयाे । उहाँले प्रदर्शनीले नागरिकमा चेतना अभिवृद्धि गर्न सकेमा झनै सन्तोष हुने धारणा राख्नु भयाे । पठन संस्कृतिको विकास हुँदै गइरहेको उल्लेख गर्दै शर्माले पुस्तक पढ्ने बानीले चेतनाको स्तर उकास्ने विश्वास व्यक्त गर्नु भयाे ।
“यो प्रयासले अझ राम्रो र सकारात्मक परिणाम देओस्,” शर्माले भन्नु भयाे, “यसले विवेकशील, तर्कसंगत, न्यायपूर्ण र मानवोचित सोच र व्यवहारको विकास गरोस् भन्ने मेरो चाहना छ ।” निजी क्षेत्रले पठन संस्कृतिको प्रवर्द्धनमा खेलेको भूमिकाप्रति उहाँले आभार व्यक्त गर्नु भयाे ।
‘पुस्तक पढौं, अघि बढौं’ भन्ने मूल नारासहित सुरु गरिएको प्रदर्शनीलाई स्थानीय स्तरमा पुस्तकप्रतिको रुचि बढाउने अवसरका रूपमा लिइएको छ

