दाङ, ४ असोज । जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्यलाई दाङ प्रहरीले तीव्ररूपमा अघि बढाएको जनाएको छ ।
दाङ जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) अर्जुनप्रसाद तिमिल्सिनाले गत भदौ २४ गते जिल्लाका विभिन्न स्थानमा भएको क्षति र घटनामा संलग्नको पहिचानका लागि अनुसन्धान जारी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार आन्दोलनका क्रममा खिचिएका तस्बिर, भिडियो र प्रत्यक्षदर्शीबाट प्राप्त विवरणका आधारमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको सूची तयार पारिँदै छ ।
एसपी तिमिल्सिनाले आगो लगाउने, तोडफोड गर्ने, लुटपाटमा संलग्न र उक्साउनेहरू सबैको विवरण संकलन भइरहेको उल्लेख गर्दै अनुसन्धानको संवेदनशीलता कायम राख्न केही जानकारी गोप्य राखिएको बताउनु भयो। चोरी भएका सामग्री फिर्ता ल्याउने व्यक्तिहरूको तीन पुस्ते विवरण संकलन गरेर छोड्ने योजना समेत प्रहरीको रहेको उहाँले जानकारी दिनुभयो ।
प्रहरीले घटनासम्बन्धी विवरण, फोटो वा भिडियो प्रमाणसहित उजुरी दिन नागरिकलाई आग्रह गर्दै, बिलविजक नभएका कम्प्युटर, ल्यापटप, प्रिन्टर, टेबल, कुर्सी, डेक्स, टिभीजस्ता सामान खरिद नगर्न व्यवसायी र सर्वसाधारणलाई चेतावनी दिएको छ । चोरीका सामग्री बिक्री हुनसक्ने स्थानमा सूक्ष्म निगरानी राखिएकोले खरिद–बिक्री नगर्न अनुरोध गरिएको प्रहरी प्रमुख तिमिल्सिनाको भनाइ छ ।
हालसम्म घटनाबारे औपचारिक उजुरी नआएकाले कारबाहीको प्रक्रिया अघि बढाउन कठिनाइ भएको पनि उहाले बताउनु भयो । सुरक्षा निकायका सबै शाखाहरू घटनामा संलग्नको पहिचान तथा सूचना संकलनमा जुटेका छन् ।
आन्दोलनका क्रममा दाङ जिल्ला प्रहरी कार्यालय मातहतको ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय तथा घोराही बसपार्कस्थित अस्थायी प्रहरी चौकीमा तोडफोड र आगजनी भएको थियो । त्यस क्रममा प्रहरी गाडीमा समेत क्षति पुर्याइएको र तीन जना प्रहरी घाइते भएको बताइएको छ । क्षतिग्रस्त प्रहरी चौकीको पुनःनिर्माण भइरहेको र बुधबारदेखि ट्राफिक प्रहरीले नियमित कामकाज सुरु गरेको दाङ प्रहरीले जनाएको छ ।












