काठमाडौं, ५ असोज । नयाँ बानेश्वरमा २३ गते जेनजी समूहको प्रदर्शनको भीडमा कालो कम्ब्याट पोशाकमा हातमा वाकीटाकी बोकेर हिंडिरहेको युवकको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ। यो दृश्यले सर्वसाधारणमा शंका उत्पन्न मात्र गरेन, विभिन्न षड्यन्त्र सिद्धान्तका बहस पनि जन्मायो। “उनी को हुन्? कसले पठायो? अन्तर्राष्ट्रिय गिरोहको एजेन्ट हुन् कि अमेरिकी जासूस?” भन्ने प्रश्न उठ्दा सत्य अझै अनिर्णीत रहेको थियो।

तर अहिले रहस्यमयी युवकको पहिचान खुल्दै छ। ‘हामी नेपाल’ संस्थाका संस्थापक सुदन गुरुङले मिडियामा पुष्टि गर्दै भने, “उनी हाम्रा स्वयंसेवक हुन्, नाम जेशिन महर्जन हो। कम्ब्याट पोशाक उनको व्यक्तिगत रुचि हो र वाकीटाकी केवल भीडमा सञ्चारका लागि प्रयोग भएको हो।”

यस बीच, प्रहरी उच्च अधिकारीले यस्तो पोशाक र उपकरणको प्रयोगलाई गैरकानुनी ठहर गरेका छन्। उनका अनुसार, “सुरक्षा सेवामा नभएका व्यक्तिले प्रहरी वा सेनाको जस्तो कम्ब्याट पोशाक लगाउन पाउँदैनन्। निजी सुरक्षा कम्पनीलाई समेत स्पष्ट मापदण्ड पालन गर्नुपर्छ – डिजाइन र रंग प्रहरीसँग मिल्नु हुँदैन र नक्कल निषेध गरिएको छ।”

वाकीटाकीको प्रयोगमा पनि नियम कडाइका साथ लागू हुन्छ। अधिकारीले भने, “सञ्चारका लागि नजिकको प्रहरी इकाईसँग अनुमति लिनुपर्छ, अन्यथा यो अवैध ठहरिन्छ।” यदि महर्जनले यी नियम तोडे भने सामान्य प्रदर्शनको स्वयंसेवक कथा गैरकानुनी घटनामा परिणत हुन सक्ने खतरा रहेको छ। प्रहरी अनुसन्धानमा सबै पक्ष छ – “कहाँबाट ल्याए? कसले अनुमति दियो? उद्देश्य के हो?” – अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस