काठमाण्डाै, ६ असाेज । गएको आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा साढे २८ हजारभन्दा धेरै उजुरी दर्ता भएका छन् ।
आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको प्रतिवेदन अनुसार गएको आर्थिक वर्षमा २८ हजार ५ सय ५४ वटा उजुरी दर्ता भएका हुन् । यस्तै अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ८ हजार ४ सय ७२ वटा उजुरीसमेत गरी गएको वर्षको उजुरी सङ्ख्या ३७ हजार २६ पुगेको छ । यीमध्ये २७ दशमलव ६७ प्रतिशत उजुरी अनलाइनमार्फत प्राप्त भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार दर्ता भएका उजुरीमध्ये ५३ दशमलव ८४ प्रतिशत पालिकासँग सम्बन्धित छन् । पालिकामध्ये सबैभन्दा धेरै पोखरा महानगरपालिकासँग सम्बन्धित ४ सय १३ वटा उजुरी परेको छ । ३३ दशमलव ६९ प्रतिशत सङ्घीय निकायसम्बन्धी र १२ दशमलव ४७ प्रतिशत प्रदेश सरकारसम्बन्धी रहेका छन् । सङ्घीय मन्त्रालयहरूमध्ये सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित रहेको छन् ।
आयोगले प्रारम्भिक छानबिनमार्फत २९ हजार ७ सय ३ वटा उजुरी फर्छ्याेट गरेको छ । यसमध्ये ९ सय २७ वटा विस्तृत अनुसन्धानमा गएको छ भने १७ हजार १ सय ३० उजुरी तामेली गरिएको छ । ५ सय ८६ उजुरीमाथि सुझाव दिई तामेली गरिएको छ भने ११ हजार ६० वटा उजुरीलाई कानून बमोजिम अन्य कारबाही गरिएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
प्रारम्भिक छानबिनका क्रममा रहेका ७ हजार ३ सय २३ वटा उजुरी चालू आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका छन् । आयोगका अनुसार गएकाे वर्ष ९ सय ४७ फाइल विस्तृत अनुसन्धान सकिएको छ । तीमध्ये १ सय ३७ वटा मुद्दा विशेष अदालतमा दायर गरिएको प्रतिवेदनमा उल्लेख छ ।












