घाेराही, ११ माघ । घोराही उपमहानगरपालिका वडा नम्वर १२ मा रहेको सनराइज एकेडेमीले १५ औं वार्षिकाेत्सव मनाएकाे छ । वार्षिकाेत्सवका अवसरमा एकेडेमीले खेलकुद सप्ताहसँगै विभिन्न सामाजिक कार्यहरु गरि वार्षिकोत्सव मनाएकाे हाे ।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले विज्ञान कला प्रदर्शनी, कृषि प्रदर्शनी, गीत नृत्य, प्रहसन, चित्रकला, खेललगायतका प्रस्तुतीहरु देखाइएका थिए । उक्त अवसरमा बोल्ने वक्ताहरुले ग्रामिण क्षेत्रमा रहेर पनि सनराइज एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोमा प्रशंसा गरेका थिए । वक्ताहरुले विद्यालयले समाजको जुनसुकै क्षेत्रमा जाँदा पनि नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले सनराइज एकेडेमीले पछिल्ला दिनहरुमा आफ्नो शिक्षण सिकाई पद्धतीलाई समय अनुकूल बनाएकोमा प्रशंसा गर्नुभयाे । उहाँले विद्यालयले समाजमा बिक्न सक्ने, टिक्न सक्ने, नेतृत्व गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने तर्फ आफ्नो शिक्षण सिकाईहरु केन्द्रीत गर्नुपर्ने सुझाव दिनुभयो ।

अर्का विशिष्ट अतिथि प्याव्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले निजी विद्यालयहरुले अहिलेको शिक्षालाई गुणस्तरीय बनाउन भरपुर कोसिस गरिरहेको र सफल भएको बताउनुभयो।

विद्यालयका शैक्षिक विभाग प्रमुख चुडामणि विकको अध्यक्षता, घोराही उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख रामबहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि घोराही १२ का वडाध्यक्ष दोर्ण बहकरी, प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्द, घोराही नगर प्याव्सनका अध्यक्ष बालकृष्ण ओलीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण शिक्षकहरु नारायण शाक्य र अनामिका बुढा शाक्यले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस