दाङ, ३० चैत्र । प्रेस चौतारी नेपाल दाङ शाखाले पत्रकारहरूमाथि गरिएको व्यक्तिगत अपमान र दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। हालै दाङको तुलसीपुरस्थित ‘सजना मिष्ठान्न भण्डार’ का विषयमा समाचार लेखेको भन्दै होटल सञ्चालकले पत्रकारको फोटो सार्वजनिक शौचालयमा टाँसेर अपमान गरेको घटनाको चौतारीले घोर भर्त्सना गरेको हो।

शाखा अध्यक्ष सुधासुमन ढकाल र सचिव निमुसंगम घर्तीद्वारा जारी विज्ञप्तिमा समाचारप्रति असहमति भए प्रेस काउन्सिल वा कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै, सामाजिक सञ्जाल र सार्वजनिक स्थलमा व्यक्तिगत प्रतिष्ठामा आँच पुग्ने गरी गरिएका कार्यहरू गैरकानुनी र अनुपयुक्त भएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “नेपाल पत्रकार महासंघले छानबिन समिति गठन गरी काम गरिरहेको अवस्थामा मिष्ठान्न भण्डारबाट भएको यस्तो कार्यले हामीलाई दुःखी बनाएको छ।” चौतारीले व्यावसायिक क्षेत्रको सम्मान र संरक्षणका लागि आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पार्दै कुनै पनि पक्षबाट हतारमा गरिने आरोप-प्रत्यारोपले समस्यालाई थप जटिल बनाउने बताएको छ।

प्रेस चौतारी दाङले दुवै पक्षलाई संयमता अपनाउन र सत्यको मार्गमा रहेर विवाद समाधान गर्न अनुरोध गरेको छ। साथै, प्रेस स्वतन्त्रता विरुद्ध हुने र पत्रकारितालाई जबर्जस्ती नियन्त्रण गर्ने कुनै पनि कार्य नगर्न चेतावनी समेत दिएको छ।

 

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस