काठमाडौं, १४ जेठ । नेपाली चलचित्रलाई चीनको विशाल बजारसँग जोड्ने उद्देश्यले आयोजित ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । चलचित्रकर्मीहरूले उक्त फेस्टिभललाई नेपाली चलचित्र उद्योगका लागि अन्तर्राष्ट्रिय बजार विस्तारको महत्वपूर्ण सुरुआतका रूपमा व्याख्या गरेका छन् ।
फेस्टिभलको अनुभव सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेपाल एआइ फिल्म एलायन्स् तथा एभरेस्ट फिल्म फेस्टिभलका अध्यक्ष करूण थापाले करिब तीन वर्षअघि चिनियाँ नागरिक ली होङ्गशू (शु–ग) ले नेपाली चलचित्रलाई चीनको बजारमा लैजाने प्रस्ताव राखेपछि यस अभियानको सुरुआत भएको जानकारी दिनुभयो । उहाँले प्रारम्भमा यो योजना ‘सुन्दर सपना’ जस्तै लागेको भए पनि निरन्तर प्रयासपछि त्यसले मूर्त रूप लिन थालेको बताउनुभयो ।
उहाँका अनुसार नेपाली चलचित्रलाई चिनियाँ बजारमा पुर्याउनु केवल प्राविधिक प्रक्रिया मात्र नभई दुई फरक कानुन, संस्कार र कार्यशैलीबीच सेतु निर्माण गर्नुजत्तिकै चुनौतीपूर्ण कार्य थियो । “चीनको कडा सेन्सर प्रणाली र प्रक्रियागत जटिलताका बीच नेपाली चलचित्रलाई स्थापित गर्नु सगरमाथा आरोहणसरह चुनौतीपूर्ण थियो,” उहाँले भन्नुभयो ।
फेस्टिभलका लागि नेपालबाट २३ चलचित्र पठाइएकामा ११ चलचित्र छनोटमा परेका र अन्ततः ६ चलचित्रले चिनियाँ सेन्सर प्रक्रिया पार गरेको जानकारी दिइयो । छनोट भएका चलचित्रहरूमा ‘एन्जिला’, ‘छक्का पन्जा ५’, ‘तेल भिसा’, ‘महाजात्रा’, ‘कबड्डी ४’ र ‘होस्टेल’ रहेका छन् । फेस्टिभलमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक समाजका तत्कालीन अध्यक्ष जनकदीप पराजुलीलगायत निर्देशक, निर्माता र कलाकारहरूको सहभागिता रहेको थियो । साथै सशस्त्र प्रहरी बलका कलाकार टोलीले नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमका क्रममा चीनको छाङ्शामा सात दिनसम्म नेपाली चलचित्र प्रदर्शन गरिएको थियो । एउटै समयमा पाँच वटा हलमा नेपाली चलचित्र प्रदर्शन भएको अनुभव नेपाली टोलीका लागि अविस्मरणीय रहेको सहभागीहरूले बताएका छन् । फेस्टिभल अवधिमा आयोजित ‘एआई फिल्म मेकिङ कन्फरेन्स’ लाई पनि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । चीन एआई प्रविधिमा अग्रस्थानमा रहेको उल्लेख गर्दै नेपाली टोलीले चलचित्र निर्माणमा कृत्रिम बुद्धिमत्ताको प्रयोगसम्बन्धी प्राविधिक ज्ञान आदानप्रदान गर्ने अवसर पाएको जनाएको छ ।
त्यसै क्रममा नेपाल र चीनबीच सह–निर्माणमा चलचित्र निर्माण गर्ने घोषणा समेत गरिएको छ । साथै हङकङ–मकाउ–गुआङ्डोङ बे एरियाका चलचित्र संस्थासँग नेपाली चलचित्रलाई चिनियाँ बजार र ओटीटी प्लेटफर्ममा विस्तार गर्ने विषयमा छलफल भएको जानकारी दिइएको छ । कार्यक्रममा वक्ताहरूले नेपाल र चीनबीच चलचित्रमार्फत सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका थिए ।
नेपाली चलचित्र उद्योगका लागि चिनियाँ बजारले नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ । फेस्टिभलका अध्यक्ष करूण थापाले अप्रिल १४ देखि १९ मा चीनको हुनान प्रान्तका छाङ्शा र हेङयाङ सहरमा सम्पन्न ‘२०२६ नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ ले नेपाली चलचित्र उद्योगका लागि अन्तर्राष्ट्रिय बजार विस्तारको नयाँ सम्भावना सिर्जना गरेको जानकारी दिनुभयाे । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वर्षको अवसरमा आयोजित महोत्सवमा ‘कबड्डी ४’, ‘छक्का पञ्जा ५’, ‘महाजात्रा’, ‘एन्जिला’, ‘तेल–भिसा’ र ‘होस्टेल ३’ गरी ६ नेपाली चलचित्र प्रदर्शन गरिएको थियो । अध्यक्ष थापाका अनुसार करिब तीन वर्षअघि चिनियाँ नागरिक ली होङ्गशू ‘शु–ग’ ले नेपाली चलचित्रलाई चीनको विशाल बजारमा लैजाने प्रस्ताव राखेपछि यो अभियान सुरु भएको हो । प्रारम्भमा सामान्य भेटघाटबाट सुरु भएको प्रयास अहिले नेपाल–चीन चलचित्र सहकार्यको महत्वपूर्ण आधार बनेको उहाँले बताउनुभयो ।
समारोहमा चिनियाँ अध्यक्ष जियाङ बोले सन् २०२१ को प्रारम्भिक परिकल्पनादेखि लिएर दुई वर्षभन्दा बढीको अथक तयारीपछि यो महोत्सवले पूर्णता पाएको स्मरण गर्नुभयो। उहाँले चलचित्रले राष्ट्रिय सीमाना पार गर्ने भन्दै यस सांस्कृतिक सेतुमार्फत चिनियाँ चलचित्रलाई पनि विश्वव्यापी मञ्चमा लैजाने र दुई देशबीच द्विपक्षीय चलचित्र संस्कृतिको आदानप्रदानलाई निरन्तरता दिने कुरामा जोड दिनुभयो। साे कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश राज दाहालसहित नेपाली चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो ।
महोत्सवका क्रममा चलचित्र सह–निर्माण, चिनियाँ ओटीटी प्लेटफर्ममा नेपाली चलचित्र विस्तार तथा एआई प्रविधिमा आधारित फिल्म निर्माणसम्बन्धी सहकार्यबारे पनि छलफल भएको आयोजकले जनाएको छ । चिनियाँ पक्षले प्रदर्शन गरिएका चलचित्रमध्ये केहीलाई चीनको सिनेमा हल वा ओटीटी बजारमा व्यवस्थापन गर्ने सम्भावनाबारे सकारात्मक संकेत दिएको छ ।











