घोराही, ३० असार। घोराही उपमहानगरपालिकामा कतिपय खेलकुद कार्यक्रमहरु बजेट अभावका कारण सञ्चालन नभएकाे विषयलाई लिएर सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यममा आएका एकतर्फी भ्रमपूर्ण समाचारप्रति दाङका विभिन्न खेलकुद संस्थाले आपत्ति जनाएका छन्।
मंगलबार जारी संयुक्त प्रेस विज्ञप्तिमा २०८२ भदौ २३ र २४ गते भएको जन–जेड आन्दोलनका क्रममा वडा कार्यालय, उपमहानगरपालिकाका कार्यालय, मालपोत, नापी कार्यालयलगायत सरकारी संरचनामा भएको तोडफोड तथा आगजनीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र व्यवस्थापनका लागि कार्यपालिकाले आन्तरिक स्रोतबाट संकलन हुने कुल बजेटको ७० प्रतिशत कटौती गरी ३० प्रतिशत बजेट विभिन्न क्षेत्रमा विनियोजन गर्ने निर्णय गरेको उल्लेख गरिएको छ।
उक्त निर्णयका कारण आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन हुने ९ वटा अन्तरविद्यालयस्तरीय खेलकुद कार्यक्रमका लागि बजेट अभाव भएको विज्ञप्तिमा जनाइएको छ। यसै विषयलाई लिएर केही व्यक्तिले सामाजिक सञ्जाल तथा अनलाइन मिडियामार्फत एकपक्षीय, भ्रामक र कपोलकल्पित सूचना प्रवाह गर्दै खेलकुद संस्था तथा उपमहानगरपालिकाको बदनाम गराउने प्रयास गरेको भन्दै विज्ञप्तिमा असन्तुष्टि व्यक्त गरिएको छ।
नगर खेलकुद विकास समिति, घोराहीले खेलकुद कार्यक्रम सञ्चालनका लागि सम्बन्धित खेल संघसंस्था, सामुदायिक तथा संस्थागत विद्यालयहरुसँग आवश्यक समन्वय, सहकार्य र प्राविधिक सहयोग गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ। बजेट अभावका कारण प्रभावित कार्यक्रमबारे सम्बन्धित खेल संस्थाहरुलाई यसअघि नै जानकारी गराइसकिएको र आगामी आर्थिक वर्ष २०८३/८४ का कार्यक्रमबारे समेत सम्बन्धित पक्षलाई जानकारी दिइसकिएको जनाइएको छ।
खेलकुदसँग सम्बन्धित विषयमा तथ्यहीन र कपोलकल्पित समाचार सम्प्रेषण, प्रकाशन तथा प्रसारण नगर्न सम्बन्धित सबै सञ्चारमाध्यम र सरोकारवालासँग विज्ञप्तिमार्फत आग्रह गरिएको छ। साथै, नगर खेलकुद विकास समिति घोराही तथा खेल संघसंस्थाबीचको समन्वय र सहकार्यलाई निरन्तरता दिँदै खेलकुद गतिविधिलाई अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
उक्त संयुक्त प्रेस विज्ञप्तिमा दाङ जिल्ला बक्सिङ संघ, घोराही ब्याडमिन्टन क्लब, दाङ जिल्ला फुटबल संघ, दाङ जिल्ला तेक्वान्दो संघ, दाङ जिल्ला आईटीएफ तेक्वान्दो संघ, दाङ जिल्ला बास्केटबल संघ, दाङ साइकल सिटी, सितोरियो कराते संघ दाङ तथा घोराही नगर खेलकुद विकास समितिका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ।











