दाङ, ५ भदाै । अखिल नेपाल महिला संघ दाङ जिल्ला कमिटीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको हत्यामा संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

अनेम संघ दाङका अध्यक्ष लक्ष्मी शर्माको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलले शुक्रबार प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै पछिल्लो समय हत्या, अपहरण, आगजनी, आत्मदाह, मानव बेचबिखन, तस्करी, चोरी, डकैती तथा बलात्कारलगायतका आपराधिक घटना बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको हो ।

ज्ञापनपत्रमा बालिका गरिमा चौधरीको हत्याले समाजलाई गम्भीर रूपमा झस्काएको उल्लेख गर्दै घटनामा संलग्न अपराधीलाई कानुनबमोजिम हदैसम्मको सजाय दिन माग गरिएको छ ।

अनेम संघले दाङ जिल्लाको शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रभावकारी कदम चाल्न पनि प्रशासनको ध्यानाकर्षण गराएको छ । साथै यातायात क्षेत्रलाई सुरक्षित बनाउन तथा आउँदै गरेका हरितालिका तीज, पञ्चमी, दशैँ, तिहार र छठजस्ता पर्वका समयमा हुन सक्ने सम्भावित आपराधिक घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउन माग गरिएको छ ।

ज्ञापनपत्रमा चाडपर्वका समयमा नागरिकले सुरक्षित रूपमा आवतजावत गर्ने तथा पर्व मनाउने वातावरण निर्माण गर्न प्रशासन र सुरक्षा निकायलाई आग्रह गरिएको छ । महिला तथा बालबालिकामाथि हुने हिंसा र अपराध नियन्त्रणका लागि विशेष संवेदनशीलताका साथ काम गर्नुपर्नेमा पनि अनेम संघले जोड दिएको छ ।

महिलामैत्री समाज निर्माणका लागि सबै सरोकारवाला निकायलाई जिम्मेवार बन्न आग्रह गर्दै अनेम संघले महिला तथा बालबालिकाको सुरक्षा र सम्मान सुनिश्चित गर्ने वातावरण निर्माण गर्न प्रशासनको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस