काठमाडौँ, १० भदौ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ। बाढीले बगाएर ल्याएका शवहरू नुवाकोट र धादिङका नदी किनारमा भेटिएका हुन्।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीका अनुसार उद्धार टोलीले नुवाकोट क्षेत्रबाट ३ र धादिङबाट ४ गरी कुल ७ वटा शव संकलन गरेको छ।
घटनालगत्तै खटिएको सुरक्षाकर्मीको टोलीले प्रभावित क्षेत्रमा घाइतेहरूको उद्धार तथा शव संकलनको कामलाई तीव्रता दिएको छ। बाढीमा परी थप मानिसहरू बेपत्ता भएको सूचना आइरहेकाले नदी आसपासका क्षेत्रमा टोली परिचालन गरी खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ।












