दाङ, ७ भदाै । मानव सेवा, प्रेम, करुणा, सहयोग, सद्भाव तथा विश्व बन्धुत्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले दाङमा बृहत् रक्तदान महाअभियान सञ्चालन गरिएको छ। ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, नेपाल दाङको समाज सेवा विभागको आयोजनामा ‘विश्व बन्धुत्व रक्तदान महाअभियान–२०८३’ अन्तर्गत आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
स्वेच्छिक रक्तदानलाई प्रोत्साहन गर्दै रक्तदानमार्फत मानव सेवाको भावना विस्तार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ। ब्रह्माकुमारी अन्तराष्ट्रिय पर्वकी मुख्य प्रशासिका राजयोगिनी डा. दादी प्रकाशमणिको १९औँ पुण्य स्मृतिका अवसरमा आयोजना गरिएको अभियानअन्तर्गत रक्तदान कार्यक्रम गरिएको हो।
घोराही उपमहानगरपालिका–१५ स्थित ब्रह्माकुमारी मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रको परिसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका ६० जनाले रक्तदान गरेका छन्। कार्यक्रममा सञ्चारकर्मी, व्यवसायी, विद्यार्थी, युवा तथा विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिहरूले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयकी गीता दिदीको अध्यक्षता तथा प्रदेश सांसद लोका बिकको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सुरु भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन, नेपाल परिवार नियोजन संघकी सभापति माया शर्मा, पत्रकारहरू डा. लोकराज पराजुली, महेश बस्नेत, बालकुमार शाहलगायतले रक्तदान गरेका थिए।
कार्यक्रममा रक्तदानको महत्त्वबारे चर्चा गर्दै नियमित र स्वेच्छिक रक्तदानले आपत्कालीन अवस्थामा बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्याउने बताइएको थियो। आयोजकले रक्तदानलाई केवल स्वास्थ्यसम्बन्धी सहयोगका रूपमा नभई मानवताप्रतिको जिम्मेवारी र सामाजिक सेवाको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्नेमा जोड दिएको छ।
रक्तदान कार्यक्रमलाई व्यवस्थित बनाउन रक्तसञ्चार घोराहीका प्रमुख दिलीप खनालको नेतृत्वमा प्राविधिक टोली खटिएको थियो। टोलीले रक्तदाताको स्वास्थ्य परीक्षणसहित आवश्यक प्राविधिक व्यवस्थापन गरेको थियो। कार्यक्रमको सहजीकरण माधव तिमिल्सिनाले गर्नुभएको थियो।
आयोजकले अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिँदै स्वेच्छिक रक्तदानको संस्कार विकास गर्न तथा समाजमा सहयोग, सद्भाव र विश्व बन्धुत्वको भावना अझ बलियो बनाउन पहल गरिने जनाएको छ











