Oplus_131072

घोराही, १३ भदाै । दाङको घोराहीबाट प्रकाशित हुँदै आएको गणतन्त्र राष्ट्रिय दैनिक को शनिबार, २०८३ भाद्र १३ गतेको अङ्कमा प्रकाशित सिङ्गै पेजको मानवीय सन्देश यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

रसुवामा गएको भीषण बाढी तथा पहिरोबाट मृत्यु भएका व्यक्तिका परिवार र घरबारविहीन बनेका पीडितहरूका लागि प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आह्वान गर्दै घोराही बनाऔँ अभियान ले गरेको अनुरोधलाई गणतन्त्र राष्ट्रिय दैनिकले शनिबारको अङ्कमा सिङ्गै पृष्ठ उपलब्ध गराएर प्रकाशन गरेको हो।

उक्त पृष्ठमा प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा गर्न सकिने विभिन्न बैंकका खाता नम्बर तथा क्युआर कोडसमेत प्रकाशित गरिएको छ। विपत्तिको पीडामा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहतका लागि आमनागरिकलाई सहयोग गर्न प्रेरित गर्ने उद्देश्यले गरिएको यो पहललाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले निकै प्रशंसा गरेका छन्।

शनिबार प्रकाशित गणतन्त्र दैनिकको उक्त पृष्ठ यतिबेला फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ। हजारौँ मानिसहरूले आफ्नो फेसबुक वालमा उक्त पेज पोस्ट गर्दै विपत्तिको समयमा सञ्चारमाध्यम र सामाजिक अभियानले देखाएको मानवीय संवेदनाको प्रशंसा गरेका छन्।

विपद्को घडीमा पीडितका लागि सहयोग जुटाउन सञ्चारमाध्यमले आफ्नो महत्वपूर्ण स्थान र जिम्मेवारी प्रयोग गरेको भन्दै धेरैले यस कार्यलाई अनुकरणीय उदाहरणका रूपमा लिएका छन्। गणतन्त्र राष्ट्रिय दैनिक र घोराही बनाऔँ अभियानको सहकार्यले सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र राष्ट्रिय एकताको सन्देश दिएको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिएको छ।
यस प्रकारको अनुकरणीय तथा मानवीय कार्यका लागि गणतन्त्र राष्ट्रिय दैनिक र घोराही बनाऔँ अभियान लाई विभिन्न क्षेत्रबाट प्रशंसा प्राप्त भइरहेको छ।

घोराही बनाऔँ अभियान पछिल्लो समय दाङका शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, कृषि, खेलकुद, सामाजिक सेवा तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सकारात्मक परिवर्तन कसरी ल्याउन सकिन्छ भन्ने विषयमा सक्रियतापूर्वक काम गर्दै आएको छ। विपत्तिको समयमा सबै नेपाली एकजुट भएर पीडितको राहत तथा पुनःस्थापनामा सहयोग गर्नुपर्ने सन्देश अभियानले निरन्तर प्रवाह गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस