घोराही, १३ भदाै। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नमुना मल्टिलिङ्गुअल एकेडेमी (नमुना बहुभाषिक शिक्षालय), घोराही–१५ दाङले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेको छ।
विद्यालयले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बाढीबाट प्रभावित विभिन्न जिल्लाका पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले रु. ३५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री राहत कोषको ग्लोबल आईएमई बैंकको क्यूआर कोडमार्फत ट्रान्सफर गरेको जनाएको छ।
विद्यालयद्वारा जारी सूचनाअनुसार २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको विनाशकारी बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन तथा नवलपरासी जिल्लामा धनजनको ठूलो क्षति भएको घटनाप्रति विद्यालय परिवारले गहिरो दुःख व्यक्त गरेको छ। साथै, बाढीका कारण ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।
विपद्को कठिन परिस्थितिमा पीडितको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्ष एकजुट हुनुपर्ने विद्यालयले जनाएको छ। विद्यालयका शेयर सदस्य, शिक्षक तथा कर्मचारीहरूको तर्फबाट संकलित रकम राहत कोषमा जम्मा गरिएको हो।
उक्त रकम नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासनको रोहबरमा प्रधानमन्त्री राहत कोषमा पठाइएको सूचनामा उल्लेख छ।
विद्यालयका अध्यक्ष गणेश कुमार घर्ती मगर, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासन तथा विद्यालयका प्रधानाध्यापक विष्णु हमालले संयुक्त रूपमा राहत रकम हस्तान्तरण तथा सहयोग अभियानलाई औपचारिकता दिनुभएकाे हाे।
विद्यालय परिवारले विपद्को समयमा मानवीय सहयोग सबैको साझा दायित्व भएको उल्लेख गर्दै पीडितको राहत, उद्धार र पुनःस्थापनाका लागि आवश्यक सहयोगमा सबैलाई जुट्न समेत आग्रह गरेको छ।











