Oplus_131072

दाङ, १८ भदौ । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि दाङका तीन जेसीज शाखाले संयुक्त रूपमा करिब २६ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरी चितवन पठाएका छन्।

त्रिभुवननगर जेसीज, दाङ महिला जेसीज र तुलसीपुर नगर जेसीजको संयुक्त पहलमा संकलन गरिएको राहत सामग्री नेपाल जेसीजको राहत संकलन केन्द्र चितवनमा पठाइएको हो।

त्रिभुवननगर जेसीजका अध्यक्ष मिनराज भाटका अनुसार, मिति २०८३ भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन अभियान सञ्चालन गरिएको थियो। नेपाल जेसीजको मिति २०८३ भदौ १३ गतेको परिपत्रअनुसार तीन शाखाले संयुक्त रूपमा राहत संकलन गरी पठाएको अध्यक्ष भाटले जानकारी दिनुभयो।

संकलित राहत सामग्री ट्रक नम्बर लु.प्र. ०२–००१ ख ०४२२ मार्फत चितवनस्थित नेपाल जेसीजको राहत संकलन केन्द्रमा पठाइएको हो।

राहत सामग्रीमा खाद्यान्न तथा भान्साका आवश्यक सामग्रीहरू चामल, दाल, खाने तेल, नुन, सोयाबिन तथा सोया चङ्क्स, चिउरा, जिरा, बेसारलगायत विभिन्न मसलाहरू, बिस्कुट, चम्चा, डाडु, पन्यु, थाल तथा प्लेट र गिलास रहेका छन्।

त्यस्तै, प्रभावित नागरिकका लागि पुरुषका पाइन्ट–सर्ट, भेस्ट, टी–सर्ट तथा ट्राउजर र ट्रयाक पाइन्ट, महिलाका साडी, कुर्ता–सुरुवाल तथा अन्य आवश्यक पहिरन, बालबालिकाका कपडा, ज्याकेट, स्वेटर, न्यानो कपडा, शिशुका कपडा तथा चप्पलसमेत पठाइएको छ।

आवास तथा ओढ्ने–ओछ्याउने सामग्रीअन्तर्गत त्रिपाल, डोरी, कम्बल, प्लास्टिक सिट तथा कालो प्लास्टिक, सिरानी, सुत्ने म्याट, ई–फाम तथा स्लिपिङ ब्याग पनि राहत सामग्रीमा समावेश गरिएको छ।

यसैगरी सरसफाइ तथा स्वास्थ्य सुरक्षाका लागि साबुन, सेनेटरी सामग्री, डेथ बडी ब्याग, सेनेटरी प्याड तथा स्यानिटाइजरलगायतका सामग्री पनि पठाइएको अध्यक्ष भाटले जानकारी दिनुभयो।

चितवनमा देशभरबाट आएका राहत सामग्रीहरूलाई आवश्यकताअनुसार वर्गीकरण गरी खाद्यान्न, औषधि, लत्ताकपडा, भाँडाकुँडा तथा सरसफाइ सामग्री अलग–अलग गाडीमा राखेर प्रभावित क्षेत्रमा पठाइने जनाइएको छ। सम्बन्धित स्थानीय निकायसँग समन्वय गरी पीडित बस्तीमै पुगेर राहत सामग्री वितरण गरिने नेपाल जेसीजको योजना रहेको छ।

बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, पुनःस्थापना र सहयोगका लागि तीन जेसीज शाखाले संयुक्त रूपमा गरेको यस पहललाई सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरणका रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस