दाङ, २४ भदाै । घोराही उपमहानगरपालिका बजार क्षेत्रमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा विभिन्न किराना, डेरी, मासु तथा नास्ता पसलमा खाद्य स्वच्छता र गुणस्तरसँग सम्बन्धित गम्भीर कैफियत भेटिएको छ।
अनुगमनका क्रममा कुहिएको मासु, झिंगा–कमिला परेको दूध, बिग्रिएको दही तथा पनीर, ढुसी लागेको खाद्य वस्तु र कृत्रिम रंग प्रयोग गरिएको कुखुराको मासु भेटिएपछि केही खाद्य सामग्री तत्काल नष्ट गरिएको छ।
घोराही उपमहानगरपालिकाको नेतृत्वमा बुधबार गरिएको अनुगमनका क्रममा तीन वटा मासु पसल निरीक्षण गर्दा घोराही–१५ स्थित इसाक मासु पसलमा कुहिएका खुट्टा, टाउको तथा आन्द्राभुँडी भेटिएको थियो। उक्त पसललाई रु. ७ हजार जरिवाना गरिएको छ।
त्यस्तै, पाँच वटा डेरी पसल अनुगमन गर्ने क्रममा घोराही–१५ क्याम्पस रोडस्थित दियान डेरीमा लेबल नभएका १० जार पानी भेटिएको थियो। अनुगमन टोलीले पानीको सिल खोली तत्काल नष्ट गरेको जनाएको छ।
क्याम्पस रोडस्थित पाण्डेय डेरी एण्ड किराना मा पकाउँदै गरेको करिब ८० लिटर दूधमा झिंगा, कमिला र भुसुना भेटिएको थियो। करिब रु. ८ हजार बराबरको उक्त दूध नष्ट गरिएको छ।
त्यसैगरी, घोराही–१५ स्थित गुरु कृपा डेरीमा बिग्रिएर दुर्गन्धित बनेको ३० किलो दही र २ किलो पनीर भेटिएको थियो। करिब रु. ५ हजार ४५० बराबरको दही तथा पनीर नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ।
घोराही–१५ उमा फुटसल चोक नजिकै रहेको सुवर्ण एण्ड सुबर्ण स्टोर मा १ किलो छोडा ढुसी लागेको अवस्थामा भेटिएपछि स्थलगत रूपमै नष्ट गरिएको छ। त्यहाँ लेबल नभएको मोटो सिल्की चामलका २५ किलोका ६ बोरा तथा लेबल नभएको र रंग प्रयोग गरिएको २० किलो ढुङ्ग्रा समेत भेटिएको थियो। उक्त खाद्य सामग्री सम्बन्धित सप्लायर्सलाई तीन दिनभित्र फिर्ता गर्न निर्देशन दिइएको छ।
यस्तै, घोराही–१५ क्याम्पस रोडस्थित रुकुमेली खाजा घरमा १ किलो ब्रोइलर कुखुराको मासुमा सिन्थेटिक (कृत्रिम) रंग प्रयोग गरी रोस्ट बनाउने क्रममा भेटिएको थियो। अनुगमन टोलीले उक्त मासु नष्ट गरेको छ।
अनुगमनका क्रममा भेटिएका अन्य कैफियतसमेत सुधार गर्न व्यवसायीलाई समयसीमा तोकेर तत्काल सुधार गर्न निर्देशन दिइएको छ। तोकिएको अवधिभित्र निर्देशन पालना नगरेमा हदैसम्मको कारबाही गरिने भन्दै व्यवसायीलाई सचेत गराइएको छ।
घोराही उपमहानगरपालिकाको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय दाङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर, घोराही उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा, पशु सेवा शाखा, वडा प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ तथा घोराही नगर प्रहरी लगायतका प्रतिनिधिको सहभागिता रहेको थियो।
अनुगमन टोलीले बजारमा खाद्य वस्तुको गुणस्तर, स्वच्छता, लेबल, भण्डारण तथा बिक्री वितरणको अवस्थालाई नियमित रूपमा निगरानी गरिने जनाएको छ। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका खाद्य वस्तुमा लापरबाही गर्ने व्यवसायीमाथि आवश्यक कानुनी कारबाही गरिने पनि टोलीले स्पष्ट पारेको छ।











