दाङ, २६ असोज । दाङको घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। दुर्घटनामा परी प्युठानको नौबहिनी गाउँपालिका–१ निवासी ६ वर्षीय राजन अधिकारीको मृत्यु भएको हो।
आइतबार साँझ रा.१ ख २५११ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका बालक अधिकारीको उपचारका क्रममा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घटनापछि आक्रोशित स्थानीयवासीले दोषीलाई कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गर्दै कुइरेपानीमा घोराही–लमही सडकखण्ड अवरुद्ध गरेका थिए। सडक अवरुद्ध भएपछि उक्त मार्ग भएर आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका थिए।
सडक अवरोध खुलाउने तथा पीडित परिवारलाई न्याय दिलाउने विषयमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासन र प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेम केसीको विशेष सक्रियतामा छलफल भएको थियो।
स्थानीयवासी, पीडित परिवार र स्वर्गद्वारी टिपर व्यवसायी समितिबीच भएको छलफलपछि सहमति जुटेको हो। सहमतिसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ।
दुर्घटनापछि उत्पन्न परिस्थितिलाई सहज बनाउन तथा सम्बन्धित पक्षबीच संवाद र समन्वय गरी समस्या समाधान गर्न प्रियासन र डीएसपी केसीले सक्रिय भूमिका निर्वाह गरेका थिए। छलफलमा पीडित परिवारको न्यायको माग, घटनाको अनुसन्धान र दोषीमाथि कारबाहीको विषयमा ध्यानाकर्षण गराइएको थियो।
यसैबीच, प्रहरीले दुर्घटनामा संलग्न टिपर चालकलाई नियन्त्रणमा लिइसकेको जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान गरी कानुनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।
बालकको मृत्यु भएपछि स्थानीयवासीले उठाएका माग र पीडित परिवारको न्यायको अपेक्षालाई सम्बोधन गर्न सम्बन्धित निकायले निष्पक्ष अनुसन्धान तथा कानुनी प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउनुपर्ने देखिएको छ।












