घोराही, २६ असोज । त्रिभुवन नगर जेसीजले आयोजना गरेको सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत सोमबार जिल्ला प्रहरी कार्यालय दाङमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा २०० जनाभन्दा बढीको सहभागिता रहेको थियो।
त्रिभुवन नगर जेसीज २०२६ का अध्यक्ष मिनराज भाटको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि दीपक श्रेष्ठले स्वास्थ्य मानिसको जीवनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै प्रहरी कर्मचारी तथा सर्वसाधारणको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न यस्ता शिविर उपयोगी हुने बताउनुभयो। व्यस्त कार्यतालिका र कार्यक्षेत्रको जिम्मेवारीका कारण कतिपय अवस्थामा नियमित स्वास्थ्य परीक्षण गर्न कठिन हुने भएकाले कार्यस्थलमै आयोजना गरिने शिविरले स्वास्थ्य जाँच गर्ने अवसर प्रदान गर्ने उहाँको भनाइ थियो।
विशेष अतिथि सविन प्रियासनले स्वास्थ्यलाई प्राथमिकतामा राखेर समुदायमा सेवा पुर्याउने उद्देश्यसहित आयोजना गरिएको शिविर प्रशंसनीय रहेको बताउनुभयो। उहाँले सामाजिक संस्थाहरूले नागरिकको स्वास्थ्य, शिक्षा र जनचेतनाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राख्नुभयो। उहाँका अनुसार सामाजिक उत्तरदायित्व पूरा गर्न विभिन्न संघसंस्था, स्वास्थ्य संस्था र सुरक्षा निकायबीच सहकार्य आवश्यक छ।
त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटले सप्ताहव्यापी स्वास्थ्य शिविरमार्फत समुदायका विभिन्न क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्य राखिएको बताउनुभयो। नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउने र आवश्यक स्वास्थ्य परीक्षणका लागि प्रेरित गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ थियो।
कार्यक्रममा संयोजक सुदन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने आशिष उप्रेतीले जेसिज आस्थापाठ गराउनुभएको थियो। कार्यक्रमको सहजीकरण त्रिभुवन नगर जेसिजका महासचिव बाबुराम पाण्डेले गर्नुभएको थियो।
शिविरमा बुद्ध अस्पतालका डा. प्रभास शाह, सञ्जीवनी डेन्टलका आशिष उप्रेतीलगायत स्वास्थ्यकर्मीले सहभागीहरूको विभिन्न प्रकारका स्वास्थ्य परीक्षण गर्नुभएको थियो। शिविरमा प्रहरी कर्मचारी तथा अन्य सहभागीले स्वास्थ्य परीक्षण गराउँदै आवश्यक परामर्शसमेत प्राप्त गरेका थिए।
स्वास्थ्य परीक्षणका लागि अस्पतालसम्म पुग्नुपर्ने अवस्थालाई सहज बनाउँदै कार्यस्थलमै सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरले सहभागीहरूलाई लाभ पुर्याएको आयोजकले जनाएको छ।
त्रिभुवन नगर जेसिजले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमले नागरिकमा स्वास्थ्य सचेतना बढाउनुका साथै सामाजिक संस्थाहरूको सेवामूलक भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।












