घोराही, २० कार्तिक । जीवनमा आइपर्ने कठिनाइसँग हार नमानी परिवारको जिम्मेवारी पूरा गर्न र आत्मनिर्भर बन्ने उद्देश्यका साथ घोराहीका टंकप्रसाद पौडेल परिवारले फेन्सी पसल सञ्चालनमा ल्याएका छन्। परिवारका सदस्यहरूको नियमित औषधोपचार र घरायसी खर्च व्यवस्थापन गर्न पौडेल परिवारले घोराही–१४ गोलमण्डीस्थित नेपाल टेलिकम अगाडि ‘पौडेल फेन्सी पसल’ सुरु गरेको हो।
पौडेल परिवारको जीवनयात्रा सहज छैन। टंकप्रसाद पौडेलका तीन छोरीमध्ये माइली र कान्छी छोरी बौद्धिक अपाङ्गता भएका छन्। उनीहरूले नियमित औषधि सेवन गर्नुपर्ने अवस्था छ। त्यस्तै, टंकप्रसाद पौडेल र उहाँकी श्रीमतीले पनि नियमित औषधि सेवन गर्दै आउनुभएको छ। परिवारका चारै जनाको औषधोपचारमा मासिक करिब १० हजार रुपैयाँ खर्च हुने गरेको पौडेलले जानकारी दिनुभयो।
घोराही उपमहानगरपालिका–१८ बालुवाटारमा स्थायी बसोबास गर्दै आएको पौडेल परिवारका लागि घरखर्चसँगै नियमित उपचार खर्च जुटाउनु ठूलो चुनौती बनेको छ। यही चुनौतीलाई अवसरमा बदल्दै परिवारको जीविकोपार्जन र उपचार खर्च व्यवस्थापन गर्ने उद्देश्यले फेन्सी पसल सञ्चालनमा ल्याइएको पौडेलले बताउनुभयो।
पसल उद्घाटनको अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनसहित विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो। सो अवसरमा प्रियासनले पौडेल परिवारलाई नयाँ व्यवसायको सुरुवात गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
उहाँले कठिन परिस्थितिका बाबजुद परिवारको जिम्मेवारी निर्वाह गर्न र आफ्नै मेहनतबाट आयआर्जनको बाटो रोज्नु सकारात्मक र प्रेरणादायी कार्य भएको बताउनुभयो। पौडेल परिवारलाई व्यवसाय सञ्चालनमा आवश्यक पर्ने सहयोग आफ्नो तर्फबाट सकेसम्म गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो।
परिवारका सदस्यहरूको स्वास्थ्य उपचार, दैनिक घरखर्च र जीवन निर्वाहका लागि पौडेल परिवारले सुरु गरेको यो सानो व्यवसाय उनीहरूका लागि आम्दानीको स्रोत मात्र नभई आत्मसम्मान र आत्मनिर्भरताको प्रयाससमेत बनेको छ।
अप्ठ्यारो परिस्थितिमा पनि हार नमानी श्रम र उद्यमलाई जीवनको आधार बनाउने पौडेल परिवारको प्रयासलाई स्थानीय समुदायले साथ र सहयोग गर्न सके उनीहरूको जीवनयापन सहज बनाउन महत्वपूर्ण योगदान पुग्नेछ।












