✍️सबिन ‘प्रियासन’ चौधरी

नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने, रोजगारीका अवसर सिर्जना गर्ने र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यममध्ये रात्रिकालीन व्यवसाय पनि एक हो। विश्वका धेरै मुलुकले रात्रिकालीन अर्थतन्त्रलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकास गरिरहेका छन्। तर नेपालमा भने रात पर्नासाथ बजार, व्यापारिक केन्द्र र मनोरञ्जनका क्षेत्रहरू क्रमशः बन्द हुने अवस्था छ। यसले हाम्रो आर्थिक गतिविधिलाई निश्चित समयभित्र सीमित बनाएको छ। अब समयअनुसार सोच बदल्दै रात्रिकालीन अर्थतन्त्रको विकासमा राज्यले विशेष ध्यान दिन आवश्यक छ।

व्यवसाय गर्ने समयलाई दिउँसोमा मात्र सीमित राख्दा अर्थतन्त्रले आफ्नो सम्भावनाअनुसार गति लिन सक्दैन। बिहानदेखि साँझसम्म सञ्चालन हुने व्यापार व्यवसायसँगै साँझ र रातिको समयमा पनि व्यवस्थित रूपमा बजार सञ्चालन गर्न सकियो भने आर्थिक गतिविधि स्वतः विस्तार हुन्छ। होटल, रेस्टुरेन्ट, क्याफे, मनोरञ्जन केन्द्र, सांस्कृतिक कार्यक्रम, यातायात, पर्यटकीय सेवा तथा अन्य व्यापारिक प्रतिष्ठानहरू रात्रिकालीन समयमा सञ्चालन हुँदा व्यवसायीको आम्दानी बढ्नुका साथै राज्यको राजस्वमा समेत वृद्धि हुन्छ।

रात्रिकालीन व्यवसाय विस्तारको सबैभन्दा महत्वपूर्ण पक्ष रोजगारी सिर्जना हो। नेपालमा बेरोजगारी र वैदेशिक रोजगारीप्रतिको निर्भरता ठूलो चुनौतीका रूपमा रहेको छ। युवाहरूलाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर उपलब्ध गराउन अर्थतन्त्रका नयाँ क्षेत्र पहिचान गर्नुपर्छ। रात्रिकालीन व्यवसायले होटल व्यवस्थापन, सुरक्षा, यातायात, सरसफाइ, खाद्य सेवा, मनोरञ्जन तथा अन्य क्षेत्रमा हजारौँ मानिसलाई रोजगारी दिन सक्छ। विद्यार्थी, युवा तथा अतिरिक्त समय काम गर्न चाहने व्यक्तिका लागि पनि यो राम्रो अवसर बन्न सक्छ।

त्यसैगरी रात्रिकालीन व्यवसायले पर्यटन क्षेत्रलाई थप आकर्षक बनाउन सक्छ। पर्यटकहरू दिनमा घुम्ने र रातमा होटलमै सीमित हुने अवस्था अन्त्य गर्न स्थानीय कला, संस्कृति, खानपान, संगीत, मनोरञ्जन र बजारलाई रात्रिकालीन गतिविधिसँग जोड्नुपर्छ। पर्यटकीय सहरहरूमा रात्रिकालीन बजार, सांस्कृतिक कार्यक्रम, स्थानीय परिकारका केन्द्र तथा सुरक्षित मनोरञ्जनस्थल सञ्चालन गर्न सके पर्यटकको बसाइ अवधि र खर्च दुवै बढाउन सकिन्छ। यसबाट स्थानीय उत्पादन, कृषि उपज, हस्तकला र घरेलु उद्योगले समेत बजार पाउँछन्।

घोराही, तुलसीपुर, नेपालगन्ज, बुटवल, पोखरा, काठमाडौंलगायतका सहरमा रात्रिकालीन अर्थतन्त्र विकास गर्ने पर्याप्त सम्भावना छ। विशेषगरी घोराहीजस्ता तीव्र रूपमा सहरीकरण भइरहेका सहरमा व्यवस्थित रात्रिकालीन बजारको अवधारणा अघि बढाउन सकिन्छ। स्थानीय परिकार, सांस्कृतिक प्रस्तुति, पारिवारिक मनोरञ्जन, पुस्तक तथा सिर्जनात्मक सामग्रीका बजार र सुरक्षित किनमेल केन्द्र सञ्चालन गर्न सके सहरको आर्थिक गतिविधि विस्तार हुनुका साथै सहरको पहिचानसमेत स्थापित हुन्छ।

तर रात्रिकालीन व्यवसायको विकास भन्नाले जथाभावी रातभर व्यापार सञ्चालन गर्नु मात्र होइन। यसका लागि स्पष्ट नीति, सुरक्षित वातावरण र प्रभावकारी व्यवस्थापन आवश्यक हुन्छ। स्थानीय सरकारले व्यवसाय सञ्चालनको समय, क्षेत्र, मापदण्ड र अनुगमनसम्बन्धी नीति बनाउनुपर्छ। शान्तिसुरक्षा, सडक बत्ती, सीसीटीभी, नियमित यातायात, सार्वजनिक शौचालय, फोहोर व्यवस्थापन तथा आपत्कालीन स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्छ। ध्वनि प्रदूषण, अवैध गतिविधि, लागुऔषध दुव्र्यसन र सामाजिक विकृति नियन्त्रणका लागि पनि कडा निगरानी आवश्यक छ।

रात्रिकालीन व्यवसायलाई प्रोत्साहन गर्न सरकारले कर तथा व्यवसाय दर्तासम्बन्धी प्रक्रियालाई सहज बनाउनुपर्छ। निजी क्षेत्र, स्थानीय व्यवसायी, पर्यटन व्यवसायी र समुदायबीच सहकार्य हुनुपर्छ। रातिको समयमा काम गर्ने श्रमिकको सुरक्षा, उचित पारिश्रमिक र श्रम अधिकार सुनिश्चित गर्नु पनि राज्यको दायित्व हो।

वास्तवमा आर्थिक समृद्धि हासिल गर्न नयाँ सम्भावनाको खोजी गर्नैपर्छ। दिनमा मात्र चल्ने अर्थतन्त्रलाई साँझ र रातिसम्म विस्तार गर्न सकियो भने सीमित स्रोत र साधनबाट पनि बढी आर्थिक उपलब्धि हासिल गर्न सकिन्छ। यसले बजारलाई जीवन्त बनाउने, रोजगारी बढाउने, पर्यटन प्रवर्द्धन गर्ने र सरकारी राजस्व विस्तार गर्नेछ।

त्यसैले रात्रिकालीन व्यवसायलाई मनोरञ्जनसँग मात्र जोडेर हेर्ने पुरानो सोचबाट माथि उठ्न आवश्यक छ। यो आर्थिक विकासको एउटा महत्वपूर्ण आधार हो। सुरक्षित, मर्यादित, व्यवस्थित र उत्पादनमुखी रात्रिकालीन अर्थतन्त्र निर्माण गर्न तीनै तहका सरकारले स्पष्ट योजना र कार्यान्वयनको प्रतिबद्धता देखाउनुपर्छ। रातलाई केवल विश्रामको समय होइन, आर्थिक सम्भावना विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्न सकियो भने मुलुकको अर्थतन्त्रलाई नयाँ गति दिन सकिनेछ। समयको सदुपयोग, अवसरको विस्तार र आर्थिक गतिविधिको विविधीकरण नै समृद्धिको आधार हो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस