घोराही, १५ कार्तिक । गुरुकुल एकेडेमी दाङले सञ्चारकर्मीसँग शैक्षिक गतिविधि, विद्यालयका आगामी योजना तथा सुधारका विषयमा अन्तरक्रिया एवं शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक प्रदीप राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुभदीपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को शुभकामना आदान–प्रदानसँगै विद्यालयका शैक्षिक गतिविधि, उपलब्धि, चुनौती तथा आगामी योजनाका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले गुरुकुलका शैक्षिक गतिविधिलाई थप प्रभावकारी, गुणस्तरीय र समयसापेक्ष बनाउन विभिन्न सुझाव दिएका थिए। विद्यालय र सञ्चार क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउँदै विद्यार्थीको सर्वाङ्गीण विकास तथा शिक्षाको गुणस्तर अभिवृद्धिमा ध्यान दिनुपर्नेमा सञ्चारकर्मीहरूले जोड दिएका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले शिक्षा क्षेत्रले समाजको चौतर्फी विकासमा योगदान पुर्‍याउने भएका कारण सबैको साझा पहल कदमीले शिक्षा क्षेत्र फस्टाउने बताउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश महासचिव पाण्डव शर्मा, प्रेस काउन्सिलका पूर्व केन्द्रीय सदस्य सरद अधिकारी, दाङ जिल्ला अध्यक्ष सन्तोष सुवेदी, पूर्व अध्यक्ष सुदीप गौतम, निवर्तमान अध्यक्ष दुर्गालाल केसी तथा कोषाध्यक्ष अमर क्षितिज भण्डारीले सञ्चारकर्मीका तर्फबाट आफ्ना धारणा तथा सुझाव राख्नुभएको थियो।

सञ्चारकर्मीबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक प्रदीप राजभण्डारी, तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरी र लमहीका प्रधानाध्यापक विवेक देवकोटाले विद्यालयका शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।उहाँहरूले विद्यालयको शैक्षिक उन्नयनका लागि सञ्चार क्षेत्रसँगको सहकार्यलाई अझ बलियो बनाउँदै प्राप्त सुझावहरूलाई व्यवहारमा कार्यान्वयन गर्ने बताउनुभयो। विद्यालयका गतिविधि, उपलब्धि र सुधारका विषयमा सञ्चारमाध्यमसँग निरन्तर सहकार्य गर्दै अघि बढ्ने उहाँहरूको भनाइ थियो।कार्यक्रमको सहजीकरण गुरुकुल एकेडेमीका प्लस टु संयोजक राजन अधिकारीले गर्नुभएको थियो। कार्यक्रमले विद्यालय र सञ्चार क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै गुरुकुलको शैक्षिक यात्रालाई अझ प्रभावकारी र परिणाममुखी बनाउन महत्वपूर्ण आधार तयार गरेको विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस