घोराही, १५ कार्तिक । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षक तथा प्रधानाध्यापकहरूलाई सम्मान गरेको छ। संगठनले आयोजना गरेको कार्यक्रममा पूर्व अध्यक्ष, महिला प्रधानाध्यापक, कार्यक्षमताका आधारमा बढुवा भएका शिक्षक तथा आजीवन सदस्यहरूलाई सम्मान गरिएको हो।

कार्यक्रममा शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएका संगठनका पूर्व अध्यक्ष दामोदर बस्नेतलाई विशेष सम्मान गरिएको थियो। त्यसैगरी दाङका विभिन्न विद्यालयमा महिला तथा समुदायको प्रतिनिधित्व गर्दै प्रधानाध्यापकको जिम्मेवारी सम्हालेर उत्कृष्ट कार्यसम्पादन गर्न सफल २० जना महिला प्रधानाध्यापकलाई सम्मान गरिएको थियो।
शिक्षकहरूको कार्यक्षमता, दक्षता र योगदानको कदर गर्दै कार्यक्षमताका आधारमा बढुवा भएका शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो। कार्यक्रममा संगठनको आजीवन सदस्यता प्राप्त गर्ने सदस्यहरूलाई सदस्यता प्रदान गर्दै सम्मान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष मिनराज शर्मा पण्डितले गर्नुभएको थियो भने संगठनका उपमहासचिव रामप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले शिक्षकहरू समाज परिवर्तन र राष्ट्र निर्माणका महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले शिक्षण पेसालाई केवल जागिरका रूपमा मात्र नभई समाज र भविष्य निर्माण गर्ने जिम्मेवारीका रूपमा लिनुपर्ने धारणा राख्नुभयो। शिक्षकहरूको पेसागत हकहित, क्षमता विकास र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि संगठनले निरन्तर भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो।
विशिष्ट अतिथिका रूपमा बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले विद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि र जिम्मेवार नागरिक उत्पादन गर्न शिक्षकहरू सक्रिय हुनुपर्ने धारणा राख्नुभयो।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले शिक्षा क्षेत्रको विकासका लागि स्थानीय सरकार र शिक्षक संगठनबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले शैक्षिक सुधारका लागि शिक्षकहरूको अनुभव, दक्षता र सिर्जनशीलतालाई उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
संगठनका लुम्बिनी प्रदेश अध्यक्ष भागवत पौडेलले शिक्षकहरूको एकता, पेसागत मर्यादा र शैक्षिक गुणस्तर अभिवृद्धिमा संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले शिक्षकका समस्या समाधानसँगै शैक्षिक क्षेत्रको सुधारमा पनि संगठन केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले शिक्षकहरू राष्ट्रका भविष्य निर्माता भएको उल्लेख गर्दै समाजको चेतना, संस्कार र सभ्यता निर्माणमा शिक्षकहरूको योगदान अतुलनीय रहेको बताउनुभयो। उहाँले शिक्षकले आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्न सके समाज र मुलुकको भविष्य उज्ज्वल बन्ने धारणा राख्नुभयो। शिक्षा क्षेत्रलाई समयअनुसार प्रविधिमैत्री, व्यावहारिक र गुणस्तरीय बनाउन शिक्षक, अभिभावक, स्थानीय सरकार तथा सरोकारवाला सबैबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले शिक्षकहरूको सम्मान र प्रोत्साहनले शैक्षिक क्षेत्रमा थप ऊर्जा र जिम्मेवारीबोध सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।
संगठनका उपाध्यक्ष जितबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव धनिराम केसीले गर्नुभएको थियो।
कार्यक्रममा शिक्षकहरूको पेसागत योगदानको सम्मान, महिला नेतृत्वको प्रोत्साहन, संगठनको संस्थागत विकास तथा गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।











