घोराही, १५ कार्तिक । घोराही उपमहानगरपालिका–१४ स्थित लखनपार्कमा ‘निभारा इन होटल’ सञ्चालनमा आएको छ। पूर्ण रूपमा पारिवारिक वातावरणलाई प्राथमिकता दिँदै सञ्चालनमा ल्याइएको होटलको एक कार्यक्रमबीच उद्घाटन गरिएको छ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले रिबन काटेर होटलको उद्घाटन गर्नुभएको हो।

युवा व्यवसायी शेखर क्षेत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रियासन र विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण पत्रकार दीपक ओलीले गर्नुभएको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले घोराहीमा नयाँ व्यवसाय तथा सेवा क्षेत्रको विस्तार हुनु आर्थिक गतिविधि बढाउने र स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने महत्त्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले युवाहरूले स्वदेशमै उद्यम तथा व्यवसाय सञ्चालन गर्ने सोचका साथ अगाडि बढ्नु सकारात्मक भएको उल्लेख गर्दै व्यवसायको सफलताका लागि गुणस्तरीय सेवा, ग्राहकप्रतिको सद्भाव र विश्वसनीयता महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।

त्यस्तै, विशिष्ट अतिथि सुवेदीले व्यवसाय सञ्चालनसँगै सेवाको गुणस्तर र ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

घोराहीको लखनपार्क क्षेत्रमा रहेको निभारा इन होटल राप्ती बचत तथा ऋण सहकारी संस्थाको भवनमा सञ्चालनमा आएको हो। दाङकै सबैभन्दा ठूलो घरका रूपमा परिचित उक्त भवनको चौथो, पाँचौँ र छैटौँ तलामा होटलका सेवा तथा सुविधाहरू उपलब्ध छन्।

होटलमा पारिवारिक वातावरणमा बसेर खाजा तथा खानपिन गर्न सकिने व्यवस्था मिलाइएको छ। त्यसैगरी, पाहुनाहरूका लागि व्यवस्थित र आरामदायी कोठाहरूको समेत व्यवस्था गरिएको छ। परिवार, साथीभाइ तथा विभिन्न समूहमा आउने ग्राहकलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य होटलले राखेको छ।

होटलको विशेष आकर्षणका रूपमा छतमा बसेर खानपिन तथा सांगीतिक मनोरञ्जन लिन सकिने व्यवस्था गरिएको छ। खुला वातावरणमा बसेर खाजा तथा अन्य परिकारको स्वाद लिनुका साथै संगीतको आनन्द लिन सकिने भएकाले होटललाई पारिवारिक भेटघाट, साथीभाइसँगको जमघट तथा रमाइलो समय बिताउने गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

ग्राहकको सहजतालाई ध्यानमा राख्दै भवनमा लिफ्टको व्यवस्था पनि गरिएको छ। यसले होटलका विभिन्न तलामा पुग्न ग्राहकलाई सहज बनाउने अपेक्षा गरिएको छ।

पारिवारिक वातावरण, खानपिन, बसोबास र सांगीतिक मनोरञ्जनलाई एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा आएको निभारा इन होटलले घोराहीको होटल तथा आतिथ्य सेवा क्षेत्रको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीयस्तरमा लगानी र उद्यमशीलता बढिरहेका बेला नयाँ सुविधासहित होटल सञ्चालनमा आउनुलाई घोराहीको व्यावसायिक गतिविधि विस्तारका रूपमा समेत हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस